काठमाडौं । हिन्दू धर्मशास्त्रमा ब्रह्मा, विष्णु र शिवलाई त्रिदेवका रुपमा वर्णन गरिएको पाइन्छ । यी तीन देवमध्ये ब्रह्मालाई शृष्टिकर्ता, विष्णुलाई पालनकर्ता र शिवलाई संहारकर्ताका रुपमा चिनिन्छ ।
हिन्दू धर्मशास्त्रअनुसार भगवान शिवलाई देवताका पनि देवता अर्थात् देवाधिदेवका रुपमा चिन्छि । भगवान शिवलाई भक्तका रक्षकका रुपमा पनि चिनिन्छ । शिवलाई महादेव पनि भनिन्छ ।
धार्मिक मान्यताअनुसार जुन स्थानमा रीतपूर्वक नियमित रुपमा भगवान शिवजीको पुजा गरिँदैन त्यस स्थानमा शिवलिङ्ग राख्नु हुँदैन ।
श्रद्धालु भक्तजनहरुले तन मनले भगवान शीवको पूजा अर्चना गरेको हामीले थुप्रै देखेका छौं । हामीले पनि यस्ता पूजा अर्चना गर्ने गरेका छौं । तर, के तपाईंलाई थाहा छ केही यस्ता वस्तुहरु छन्, जो भगवान शिवलाई चढाउनु हुँदैन ।
हो, केही यस्ता वस्तुहरु भगवान शिवलाई चढाउन नहुने वस्तुका रुपमा लिइन्छ । ती वस्तु शिवलाई चढाउँदा त्यसले भगवान शिव प्रशन्न हुनुहुन्न बरु उल्टै हानी हुनसक्छ भन्ने मान्यता रहेको छ । ती पाँच कुराहरु के हुन् त ? त्यसबारेमा चर्चा गरौं ।
१. गोलाईंती फूल (केताकी फूल)
भगवान शिवलाई केतुकी फूल चढाउनु हुँदैन । किन त ? यसको पनि रोचक कहानी छ । जसबारेमा पौराणिक ग्रन्थहरुमा चर्चापरिचर्चा गरिएको छ ।
जानकारहरुका अनुसार भगवान शिव स्वयंले केतुकी फूललाई श्रप दिनुभएको थियो कि उहाँको पूजामा उक्त फूलको प्रयोग नहोस् भनेर । सोही कारण भगवान शिवको पूजाअर्जना गर्दा उहाँलाई केतुके फूल चढाउनु शुभ मानिँदैन ।
२. तुलसी
त्यसो त तुलसी हिन्दू धर्मशास्त्रअनुसार हुने प्रायः सबैजसो पूजाअर्चनाहरुमा तुलसीलाई पवित्र मानिन्छ । र यसलाई चढाउने पनि गरिन्छ । तर, भगवान शिवलाई पनि तुलसी चढाउने गरिँदैन ।
यसको अनुभव तपाईंले पनि गर्नुभएकै होला । कि तपाईंलाई थाहा छ भगवान शिवलाई तुलसी चढाएको ? सम्भवतः छैन किनभने तुलसी चढाईंदैन ।
३. नरिवलको पानी
भगवान शिवलाई चढाउन नहुने अर्को वस्तु हो नरिवलको पानी । भगवान शिवलाई सिंगो नरिवल चढाउनमा बन्देज नभए पनि शिवलिंगमा नरिवल फुटाएर पानी चढाउन भने उपयुक्त मानिँदैन । त्यसो गरेमा भगवान शिव रिसाउने बताइन्छ ।
४. बेसार
भगवान शिवलाई बेसार चढाउनु हुँदैन । यसले भगवान शिव प्रसन्न हुनुको सट्टा झन् रिसाउन सक्ने बताइन्छ । अब पूजा गर्नुको अर्थ भगवान शिवलाई सन्तुष्ट पार्नु पो हो त । त्यसैले बेसार किन चढाउनु परो र ?
५. सिन्दुर
हिन्दू धर्मशास्त्रअनुसार सिन्दुर विवाहिता महिलाको शिरको शोभा हो । यसले विवाहिता महिलाको शोभा बढाउने उल्लेख गरिएको छ । तर भगवान शिवलाई भने हिन्दू धर्मशास्त्रमा संहारकर्ताका रुपमा चिनिन्छ । त्यसैले भगवान शिवलाई सिन्दुर चढाउनु शभफलदायक हुँदैन भन्ने विश्वास छ ।
के चढाउने त ?
यी पाँच कुरा भगवान शिवलाई चढाउनु हुँदैन भनेपछि प्रश्न आउँछ पूजा अर्चना गर्दा भगवान शिवलाई के चढाउने त ?
केही यस्ता कुराहरु छन् जसलाई पूजाअर्चना गर्दा चढाएमा भगवान् शिव खुसी हुने विश्वास गरिन्छ ।
गाईको दूध, श्रीखण्ड पनि शिवजीलाई मन पर्ने वस्तुहरु हुन् । यी वस्तुहरु चढाएर पूजा गरे भगवान शिव खुसी हुने कुरा जानकारहरुले बताउँने गरेका छन् ।