काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढेको छ । इटलीमा जस्तै एउटै परिवारका धेरै सदस्यले कोरोना संक्रमणबाट ज्यान गुमाउन थालेका छन् ।
तनहुँको भिमादमा यस्तै भएको छ । जहाँ एकै परिवारका ३ जना सदस्यले ज्यान गुमाएका छन् ।
छोराहरुले दुईसाता अघि बिरामी भएका सय वर्षीय बाबुलाई अस्पताल भर्ना गरे । बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथा परिवारका अन्य सदस्यलाई क्रमश कोभिड १९ देखियो ।
यत्तिकैमा कोरोना संक्रमणकै कारण एक साताको अन्तरमा बाबु र २ छोराहरूसहित ३ जनाको मृत्यु भयो ।
यो दर्दनाक घटना हो, तनहुँ भिमादको । एकताका इटालीमा हुने गरेको यसप्रकारको मृत्यु घटनाको झल्को दिने गरी ३ जना सदस्यको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको छ ।
जेठा छोरा र माहिली बुहारी पनि काठमाडौंमा भेन्टिलेटरमै उपचार गराइरहेका छन् ।
तनहुँको साबुङ हाल घिरिङ गाउँपालिकाका धर्मकुमार श्रेष्ठको परिवार पहिले नै पहाडबाट तराई झर्यो ।खेती किसान मुल पेसा थियो । परिवारमा श्रीमती, ४ छोरा र १ छोरी थिए । समयक्रममा जेठा छोरा रामकुमार काठमाडौं बस्न थाले ।
प्रगतिशील साहित्यकार उनी साहित्यमा राम विनय नामले चिनिन्छन् । लामो समय कृषि विकास बैंकमा काम गरेपछि रिटायर्ड भएका थिए ।
माहिला कृष्णकुमार र साहिला विष्णुकुमार व्यापार व्यवसायको सिलसिलामा आफ्नै गाउँठाउँ फर्के । तनहुँको हाल भीमाद नगरपालिका वडा ६ मा दुई भाइले कपडा व्यापार गरे ।
कृष्णकुमार नेकपा प्रदेश कमिटिका पूर्व सल्लाहकार भएर काम पनि गरे । उनी पूर्व जिविस सदस्य पनि थिए । साहिला विष्णुकुमार नेकपाका जिल्ला सदस्य मात्र रहे ।
कान्छा अमृतकुमार भने चितवनमै बाबुआमासँग बसे । एक मात्र छोरीको विवाह भएर पोखराका जीवनयापन हुँदै आएको थियो ।
जीवन हाँसीखुसी नै थियो । तर असोज तेस्रो साता श्रेष्ठ परिवारमा महामारीको रूपमा विश्वभर फैलिएको कोरोना छिर्यो । परिवार छिन्नभिन्न बनायो ।
एक साता अन्तरमा असोज १८ साँहिला विष्णुकुमारको, असोज २४ मा माहिला कृष्णकुमारको र असोज २५ मा बाबु धर्मकुमारको निधन भयो ।
भिमाद निवासी दधिराज सुवेदीका अनुसार चितवनमा कान्छा छोरासँग बस्दै आएका बाबु धर्मकुमार २ साता अघि बिरामी परेका थिए । बुढ्यौली उमेरमा विभिन्न समस्या बेलाबखत आउँथ्यो ।
चितवनस्थित चितवन मेडिकल कलेज ९सिएमसी० मा भर्ना गरिएका उनलाई बढी च्यापेपछि काठमाडौं मेडिसिटी रेफर गरियो । उपचार क्रममा त्यहाँ कोरोना पुष्टि भएका उनको असोज २५ मा निधन भयो ।
त्यसअघि नै विष्णुकुमारको असोज १८ मा चितवनकै सिएमसीमा निधन भएको थियो । सो घटनाको भोलिपल्ट माहिला कृष्णकुमारलाई कोरोनाकै लक्षण देखियो ।
उनलाई तुरून्तै काठमाडौं बिएनबी पुर्याइयो । परीक्षणमा कोरोना पुष्टि भएको उनको भाइ बितेको ५ दिनपछि अर्थात असोज २४ मा उपचारकै क्रममा मृत्यु भयो ।
त्यस्तै श्रेष्ठ परिवारमा अर्को मृत्यु भोलिपल्टै थपिएको हो । घरका मिँयो धर्मकुमारको मेडिसिटीमा उपचार सिलसिलामा निधन भएको हो ।
यता, परिवारका जेठा छोरा रामकुमारको हाल ह्याम्स अस्पताल काठमाडौमा उपचार भैरहेको छ । यस्तै, माहिली बुहारी ९कृष्णकी श्रीमती० विश्वशान्ति पनि कोरोना संक्रमित छिन् ।
उनलाई कोरोनाले च्यापेपछि काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भैरहेको भिमाद वडा ६ का वडाध्क्ष श्यामसुन्दर जोशीले जानकारी दिए ।
यतिमात्र कहाँ हो र साहिली बुहारीको सोमबार मात्र पिसिआर टेष्टमा पोजेटिभ देखिएको जनाइएको छ । उनी हाल परिवारका सदस्य गुमाउँदा शोकको घडीबीच भिमाद घरमै आइसोलेसनमा बसेकी छन् ।
उनको गाडीका चालकलाई पनि कोरोना देखिएको छ । परिवारमा सबैभन्दा पहिले कोरोना देखिएका कान्छा अमृतकुमार भने असोज १७ मा निको भएको थियो ।
आजको राजधानी दैनिकमा समाचार छ ।