काठमाडौं । अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् ।
स्थायी घर गोरखाका गणेश भट्टले दशैँका लागि तन्ना तथा कुर्ता बिक्रीका लागि राखेका छन् । तर सधैँ झैँ व्यापार छैन । उनले अघिल्ला वर्षमा एक सयभन्दा बढी तन्ना बचेका थिए ।
ग्राहक आएर बस्ने ठाउँ हुँदैनथ्यो तर अहिले १० वटा बिक्री हुन पनि गाह्रो छ । काठमाडौंमा व्यापार गरिरहेका उनि आफूहरू पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गर्न लागेको तर कोरोनाको महामारीले व्यापार नभएपछि निराश भएको बताउँछन् ।
बाटोमा हिँड्डुल गर्ने व्यक्ति पनि पहिलेभन्दा पातला छन् । आफ्नो अनुभव सुनाउँदै उनले व्यापार पहिलेको दाँजोमा २५ प्रतिशत पनि छैन, खाद्यान्न बाहेकका वस्तुको अहिले कारोबार न्यून छ भने ।
अहिले सपिङ मलका व्यापारी दिनभर सटर खुला राखेर कहिले पाँच–दस हजार व्यापार गरेर घर फर्किन्छन् भने कहिले व्यापारै नगरी घर फर्कने पनि भएको व्यापारीको अनुभव छ ।
दशैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याए पनि ग्राहक नआउँदा उनीहरू अहिले समस्यामा परेका हुन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नागरिक घरभित्रै भएकाले पनि दशैँको सामान किन्न खासै बजार निस्केका छैनन् ।
ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण नभएको लुगा व्यापारी अनिल बर्माले बताए ।
उनका अनुसार अहिले दशैँ नजिकिँदै गर्दा सपिङ मलका व्यापारीले दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै छुट सहुलियत, उपहार लगायत योजना ल्याएका छन् ।
दशैँमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने परम्परागत मान्यता रहिआएको छ । छुट र सहुलियतले बजारमा रौनक छाउने गरेको विशालबजार व्यापार सङ्घका अध्यक्ष दामोदर कार्कीले बताए ।
उनले यो वर्ष कोरोना महामारीका कारण व्यापार हुने आश छैन । पहिलेको १० देखि १५ प्रतिशत मात्रा व्यापार हुन्छ होला । फुटपाथतिर अलि होला तर हाम्रो जस्तो पसलमा कहिले त बोहनी पनि हुँदैन भने ।
कोरोनाको डरले पहिले जस्तो भीडभाड नभए पनि मानिस खाद्यान्न खरिद गर्न भीड नै भएको असनका खाद्यान्न व्यापारी रुमन जोशीको अनुभव छ ।
उनले दशैँमा मीठो खानु नै पर्यो, त्यसैले खाने कुरा किन्न भने मानिसको भीड नै छ तर अरू सामान खरिद गर्ने भीड नभएको बताए । सिभिल मल व्यापारी सङ्घका अध्यक्ष रत्न घिमिरेले गत वर्षको भन्दा यो वर्षको व्यापार ७० प्रतिशतभन्दा बढीले घटेको बताए ।
सपिङ मलमा गएको वर्षको तुलनामा व्यवसाय ७० प्रतिशत घटेको छ, दशैँको मौका छोपेर अफर ल्याए पनि ग्राहक आउँदैनन् उनले भने ।
व्यापार र व्यवसायमा हाल युवा बढी संलग्न छन् । जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेका अनुसार राजधानीमा मुलुककै सबैभन्दा सघन बस्ती भएको र यहाँ बचाउको उपाय नअपनाउँदा कोरोना तीव्र गतिमा विस्तार हुने बढी सम्भावना छ ।
उनका अनुसार मानिसमा सही तरिकाले मास्क प्रयोग गर्न नजान्दा पनि कोरोना बढेको हो र बजारमा किनमेल गर्दा अझ सुरक्षित हुनु जरुरी छ ।
हाल राजधानीका विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र उपचार गराउन आउनेमा समेत बढी कोरोना सङ्क्रमण देखिएको औँल्याउँदै डा पाण्डेले बजार किनमेल गर्दा नागरिकलाई थप स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे ।
आजको गोरखापत्रमा छापिएको छ ।