काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ ।
कोरोना महामारीकै बीच कात्तिक १ गतेदेखि ट्रेकिङ र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको सरकारले पछिल्लो समय कोभिड–१९ महामारीकै बीच सबै क्षेत्र खुला गर्ने तयारी गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) स्थापनाको ४७ औं वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनारमा महामारी यथावत् रहे पनि विस्तारै पर्यटन खोल्दै जानुको विकल्प नभएको बताएका छन् ।
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्नेगरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने जानकारी उनले दिए ।
पर्वतीय पर्यटनका लागि पर्यटक स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर नेपाल आउन सक्ने र छिट्टै कुवेतका राजकुमारको पनि नेपाल भ्रमणको तयारी भइरहको जानकारी उनले दिए ।
सरकारले यसअघि नै समूहमा नेपाल आउने पर्यटकका लागि अनअराइभल भिसा खुला गर्दै त्यस्ता पर्यटक ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधानसहित मापदण्ड लागू गरेको थियो ।
एनएमएका अध्यक्ष सन्तवीर लामाले कोभिडको कारण पर्यटन व्यवसाय ठप्प हुँदा हिमाल आरोहणको क्षेत्रमा काम गर्ने मजदूर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा समेत समस्या देखिएको बताए ।
यस्ता महामारी तथा कठिन परिस्थितिका बेला उनीहरूलाई सहयोग गर्न सरकार र एनएमए मिलेर राहत कोष (बास्केट फण्ड) स्थापना गर्न उनले आग्रह गरे ।
संघका महासचिव कुलबहादुर गुरुङले व्यवसायीलाई राहतका लागि सहुलियतपूर्ण कर्जा आवश्यक भएको भन्दै त्यसको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।
आर्थिक अभियान ।