काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका कारण जनता ठूलो सङ्कटमा रहेकाले पार्टीभित्रका झिनामसिना विषयमा नअल्झिन आग्रह गरेका छन् ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा केही वरिष्ठ केन्द्रीय सदस्य सम्मिलित बैठकको सुरुवात गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
बैठकमा मुख्य गरी, कोरोना महामारी र सरकारका कामको समीक्षा, पार्टीभित्रको आन्तरिक विवाद र त्यसमा १६ बुँदे लिखित ध्यानाकर्षणपत्र, १४ औं महाधिवेशनलगायतका विषयमा छलफल केन्द्रित भएको जानकारी केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले दिए ।
बैठकमा सभापति देउवाले कोरोना महामारीबाट जनता ठूलो सङ्कटमा छन्, सरकारले कोरोनाको रोकथाम, उपचार र नियन्त्रण गर्ने कार्यबाट हात झिकेको अवस्था छ, त्यसैले कांग्रेस एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।
सभापति देउवाले भने, ‘कोरोनाका कारण जनता आहत छन्, संविधान र लोकतन्त्र नै सङ्कटमा पर्ने खतरा बढ्दैछ, यस्तो बेलामा हाम्रा आन्तरिक सानातिना, झिनामसिना विषयभन्दा माथि उठेर पार्टी पूर्ण एकता कायम गरेर जाऔं ।’
पार्टीको विधान अनुसार नै विभाग गठन गरेको, ढिलाइ हुनुमा आफ्नो कारण नभई तपाईहरूले समयमै नाम नदिँदा ढिला भएको’ भनाइ सभापति देउवाले बैठकमा राखेका थिए ।
गोरखापत्र ।