काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा पहिलो पटक निमार्ण गरिएको ‘परदेशिको पीडा’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गरेका छन् ।
काठमाडौंको न्यूरोडस्थित रिभोल्भीङ रेष्टुरेन्टमा विमोचन कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि आकाश अधिकारीले पत्रकार प्रदीपले नेपाली दाजुभाइले विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेको भन्दै खुसी व्यक्त गरे ।
उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताए ।
रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारीत गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ । नेपालीले खाडी मुलुकमा गरेको दुःख र उनीहरुले के कसरी पसिना बगाएका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ ।
खाडीमा मात्रै नभई अदक्ष नेपालीले जहाँ गए पनि दुःख मात्रै पाउने, राम्रो तलब सुविधा नपाउने अवस्थामा गीत र श्रव्य दृश्य सामग्रीले प्रस्तुत गर्ने जमर्को गरेको छ ।
गीतकार नवराज घिमिरेद्धारा रचित परदेशिको पीडा नामक गीत गायक विनोद दनुवारले गाएका छन् भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय छ । गीतको भिडियो नविनबाबु गुरुङले निर्देशन तथा छायाङ्कन गरेका हुन् ।
यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गरेकी थिइन् । साथै सम्पादन नविन निरौलाले गरेका छन् ।