काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन् ।
चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट काठमाडौंमा उत्रिनेछन् ।
परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासले रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणको तयारी छुट्टाछुट्टै गरिरहेका छन् ।
भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयल र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री फेङहे नेपाल आउन लागेका हुन् ।
यस्तै, नेपाल–भारत सचिवस्तरीय वार्ताका लागि भारतीय विदेशसचिव पनि फेङ्हेको भ्रमणअघि नै काठमाडौं आउनेछन् ।
गत वर्ष चीन भ्रमणमा गएका बेला उपप्रधानमन्त्री ईश्वर पोख्रेलले तत्कालीन रक्षामन्त्रीको हैसियतमा चिनियाँ समकक्षी फेङ्हेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
झट्ट हेर्दा नियमितजस्तो देखिए पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभएको र नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमण अर्थपूर्ण र राजनीतिक केन्द्रित हुने विश्लेषक बताउँछन् ।
सत्तारुढ दल नेकपा गम्भीर संकटमा परेका बेला फेङ्हेको नेपाल भ्रमण रक्षा मामिलाभन्दा पनि राजनीतिक विषयमा केन्द्रित हुने देखिएको छ ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । उनले नेकपाका केही शीर्ष नेतालाई सामूहिक भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले यो समाचार लेखेका छन् ।