- विनोद दाहाल
मानिसहरूको जीवनशैली
मानिसहरूको भाषा, संस्कार, संस्कृति
मानिसहरूको क्रिया
र, त्यसमा मानिसकै प्रतिक्रिया
केही पनि बुझ्नु छैन चराहरूलाई ।
मानिसहरले
आफ्ना लागि बनाएको
बंगलामा बस्नु छैन चराहरूलाई
सुस्ताउनु पनि छैन
मानिसहरले आफ्नै लागि डिजाइन गरेका
सोफाहरूमा ।
छैन, छँदै छैन
मानिसहरले बनाएको सिंहदरबारमा
चराहरूको दाबी,
बैठक कक्षमा ल्याइने
चिया र बिस्कुटमा पनि
भाग खोजेका छैनन् चराहरूले ।
मानिसहरूमै पनि
बाहिर सुघ्घर देखिनेहरू नै
किन छन् यतिविघ्न फोहोरी ?
चिसो एसी चलाएर
सोफामा बसेको राजसी मानिसलाई नै
किन आउँछ चिटचिट पसिना ?
सबभन्दा शक्तिशाली मानिस नै
किन डराउँछ पटक-पटक आफ्नै छायँसँग ?
चराहरू अचम्ममा छन् ।
मानिसहरूले आफ्नै लागि बनाएको
विवेकको मापदण्डमा
छैन चराहरको विरोध प्रदर्शन,
मानिसहरूको स्वघोषित श्रेष्ठताविरूद्ध
चराहरूले कहिल्यै निकालेका छैनन्
मशाल जुलुस ।
किनकी चराहरूलाई थाहा छ,
मानिसहरूले निमुखाका कुरा सुन्दैनन् ।
किनकी चराहरूलाई थाहा छ,
सरकार मानिसको मात्रै हुन्छ,
प्रहरी मानिसको मात्र हुन्छ,
प्रशासन मानिसको मात्र हुन्छ,
वकिल मानिसको मात्र हुन्छ,
न्यायालय मानिसको मात्र हुन्छ ।
अनि न्याय पनि मानिसको मात्र पेवा हो ।
यस्तोमा किन खोज्नु चराहरूले न्याय ?
किन गर्नु उजुरबाजुर ?
किन दुखाउनु मन ?
किन झार्नु आँशु ?
स्वार्थको परेड खेल्न
मानिसलाई जस्तै चराहरूलाई चाहिएको छैन
सिंगो पृथ्वी
चराहरूको गुनासो यत्ति हो,
रूखका हांगाहरूको लालपूर्जा
नबनाइयोस,
किनकी त्यही हांगो हो
उनीहरूको पृथ्वी
त्यहीँ गुजार्नु छ उनीहरूले जीवन ।
चराहरूको प्रश्न यतिमात्र हो
ओ मानिस !
तिमी स्वयंले बनाएको ऐनामा
तिम्रो तस्बिर कस्तो देखिन्छ,
तिमीले दुनियाँलाई देखाएको तिमी जस्तो ?
या, वास्तवमै तिमी जस्तो ?
चराहरूको भन्नु यतिमात्र हो
उनीहरूलाई चाहीँदैन
मानिसको जस्तै
विश्वास लिएर घात गर्ने मन,
र, चाहिएको छैन
मानिसको जस्तो
पानी पिएर पिसाब फेर्ने स्वतन्त्रता ।
चराहरूको माग यत्ति हो
चराहरू मार्नैका लागि मानिसले ताकेको गुलेली
अली जोडले तन्काइदेओस्,
ताकी घाइते मात्रै हुनु नपरोस्
किनकी यो पृथ्वीमा
चराहरूले
मानिसले जस्तै
उपचार पाउँदैनन् ।
ओ मानिस !
गर्ने नै भए हत्या गर
तर बिन्ती पँखेटा नकाटीदेउ ।।
@your_binod