काठमाडौं । नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन ओलीले तयार पारेको प्रतिवेदनमा नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने उल्लेख रहेको स्रोतले बतायो ।
दाहालले लगाएको आरोपको खण्डन गर्दै प्रतिवेदन तयार पारेका प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीको नेतृत्व लिन नयाँ पुस्ता सक्षम भइसकेकाले सहज ढंगले हस्तान्तरण गर्ने विषयलाई जोड दिएको उनी पक्षका एक नेताले बताए ।
‘मुलुकको कार्यकारी प्रमुख तथा पार्टीका प्रथम अध्यक्ष भएकाले उहाँ (ओली) को जवाफ गैरराजनीतिक र गैरजिम्मेवार हुँदैन,’ ती नेताले भने, ‘देश र पार्टीको आजको आवश्यकता र भोलिको सही बाटो के हुने भन्ने दिशानिर्देश प्रतिवेदनले गर्नेछ ।’
ओलीले सचिवालयमा प्रस्तुत गर्ने सो प्रतिवेदनबारे आफ्नो टिमका नेताहरूसँग लामो छलफल गरेका छन् । ती नेताका अनुसार फर्जी विषय उठान गरेर आरोप लगाउने कुरा छैन तर आरोपको खण्डन भने यथार्थपरक ढंगले हुन्छ ।
‘पार्टी एकता कमजोर पार्ने र फुटलाई बढावा दिने हिसाबले प्रधानमन्त्री एवं प्रथम अध्यक्ष ओलीको प्रतिवेदन आउँदैन, समस्याको निकास दिनेगरी आउँछ तर खण्डन गर्दा कतिपय विषय तीतो यथार्थ पनि हुन सक्छन्,’ ती नेताले भने । दाहालले व्यक्तिगत रूपमै आरोप लगाएपछि त्यसको खण्डन गर्नुपर्ने अवस्था आएको स्रोतको भनाइ छ ।
लामो विवादपछि भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओली सरकारको काममा केन्द्रित हुने र दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।
सोही बैठकले चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तय गरेको थियो । पछिल्लो समय मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशमा पार्टी विवाद, तराईका केही जिल्लामा कार्यकर्ताबीचको दोहोरो झडप र हत्या, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आदिलाई लिएर नेकपामा विवाद चुलिएको छ ।
विवाद समाधान गर्न कात्तिक २२ गते सचिवालयका पाँच सदस्यले बैठक माग गर्दै ओलीलाई पत्र बुझाएका थिए ।
त्यसको जवाफमा ओलीले २५ गते १० पेजको जवाफ फर्काएका थिए । त्यसपछि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले १९ पेजको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । मंसिर ३ गते बसेको सचिवालय बैठकमा ओलीले दाहालले प्रतिवेदनमा लगाएका आरोपको जवाफ फर्काउन १० दिनको समय मागेका थिए । मंसिर ३ को निर्णयअनुसार शनिबार सचिवालय बैठक बस्नेछ ।
यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।