काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटबल–नारायणगढ सडक विस्तार आयोजनाको निकै तामझामसहित शिलान्यास गरे ।
दुई लेनको सडकलाई चार लेन बनाउने उक्त आयोजनाको शिलान्यास गरिएको पनि २० महिना बितिसक्यो । तर भौतिक प्रगति भने २ प्रतिशतमै सीमित देखिन्छ ।
प्रधानमन्त्रीजस्तो शीर्ष नेताले शिलान्यास गरेर अपेक्षाकृत प्रगति नभएको यो एउटा मात्र आयोजना होइन, अरू आधा दर्जनजति आयोजनाको भौतिक प्रगति यस्तै निराशाजनक अवस्थामा छन् ।
बुटबल–नारायणगढ सडक विस्तार आयोजनाको ठेक्का सम्झौता भएको दुई वर्ष बित्न लाग्दा पनि निर्माण कार्यले भने अहिलेसम्म कुनै गति लिन सकेको छैन । ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी आयोजना निर्देशनालय एडिबी र चिनियाँ ठेकेदार कम्पनीबीच २०७५ पुसमा करिब १७ अर्बको लागतमा १ सय १५ किलोमिटर सडक विस्तार गर्ने ठेक्का सम्झौता भएको थियो ।
तर समयमै साइट क्लियर गर्न नसक्दा आयोजनाको ठेक्का सम्झौताको लगभग दुई वर्ष बितिसक्दा समेत आयोजनाको भौतिक प्रगति २ प्रतिशतमै रोकिन पुगेको हो ।
आयोजना निर्देशनालय (एडिबी) का निर्देशक दीपक श्रेष्ठले आयोजनाको भौतिक प्रगति २ प्रतिशत मात्रै भएको बताए ।
‘ठेकेदार मोबिलाइजेसन भए पनि रूख कटानको विवाद, साइट क्लिरेन्स नहुनु, कोभिड–१९ लगायत विविध कारणले अपेक्षित ढंगले सडक निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन,’ उनले भने ।
निर्देशक श्रेष्ठले साइट क्लियर नहुँदै आयोजना निर्माण सुरु गरेकाले पनि अपेक्षित गतिमा उपलब्धि हात पार्न नसकेको बताए । ‘नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार कोभिड–१९ का कारण लामो समय फर्किन पाएनन्,’ उनले भने, ‘अहिले बिस्तारै चिनियाँ कामदार आउन थालेसँगै निर्माण कार्य सुरु भएको छ ।’
अहिले नारायणगढदेखि बुटबल र बुटवलदेखि दाउन्ने जाने सडक लथालिंग अवस्थामा छन् । पहिला करिब एक घन्टामै पार हुने सो सडकखण्डमा अहिले चार घण्टासम्म लाग्ने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार तथा विकास विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्रीले शिलान्यास गरेका कतिपय आयोजना मुआब्जा विवाद र वन विभागलगायतका कारण निर्माण कार्यले गति लिन नसकेको स्वीकार गरे ।
निर्देशक श्रेष्ठले पछिल्लो समय ठेकेदार कम्पनीले काम सुरु गरेको दाबी गरे ।
यो आयोजना एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गर्न लागिएको हो । नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटबल थप ५० किलोमिटर गरेर एक सय ११५ किलोमिटर सडक चार लेनमा विस्तार गर्नलागिएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटबल–नारायणगढ सडकखण्ड मात्रै होइन, प्रधानमन्त्री ओलीले उच्च प्रथामिकतामा राख्दै शिलान्यास गरेका अधिकांश आयोजनाको भौतिक प्रगति अत्यन्तै न्यून देखिएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।