आचार्य चाणक्य महान् दार्शनिकका रूपमा परिचित छन् । उनको ग्रन्थ चाणक्य नीति आज पनि उत्तिकै चर्चित छ । आचार्य चाणक्यको उक्त ग्रन्थलाई अहिले पनि धेरैले महत्त्वका साथ आत्मसात गर्ने गरेका छन् ।
चाणक्यले आफ्नो ग्रन्थमा केवल उपदेश मात्र दिएका छैनन् बरु कतिपय यस्ता कुरा पनि उल्लेख गरेका छन् जसले हामीलाई आत्ममन्थत गर्नमा सहयोग पुर्याउँदछ ।
चाणक्यले आफ्नो ग्रन्थमा यस्तै कुरा उल्लेख गरेका छन् । ती कुराहरू हेर्दा सामान्य त लाग्न सक्छन् । तर, त्यसको अनुसरण गरे सफलता प्राप्त गर्न सकिन्छ ।
आचार्यले कुनै पनि कार्य गर्नुपूर्व आफैसँग यी सवालहरू गर्न सुझाएका छन् । ती सवालहरू यदि हामीले पनि आफूलाई गर्ने हो भने सफलता पाउन सकिन्छ । आउनुस् आचार्य चाणक्यले सफल जीवनका लागि सुझाएका ती कुराहरुबारे चर्चा गरौँ ।
मेरो समय कस्तो चलिरहेको छ ?
आचार्य चाणक्यका अनुसार कुनै पनि व्यक्तिलाई उसको समय कस्तो चलिरहेको छ भन्ने कुराको जानकारी हुनु आवश्यक छ । अहिले आफ्नो कस्तो समय चलिरहेको छ भनेर कुनै पनि व्यक्तिले जानकारी लिनुपर्ने र सोहीअनुसार योजना बनाउनुपर्ने हुन्छ ।
केही व्यक्तिहरू वर्तमान समयलाई अनदेखा गरिरहेका छन् । आफ्नो लागि यो समय खराब छ या असल छ यसका बारेमा जानकारी लिनु आवश्यक छ । खराब समय चलिरहेको छ भने या त सफलता मिल्न निकै गाह्रो हुन्छ या त्यसका लागि अतिरिक्त मेहनत गर्नुपर्ने हुन्छ ।
समयका बारेमा जानकारी हुँदा कसैलाई पनि वर्तमान र भविष्यको योजना बनाउन सहयोग पुग्छ । जसका कारण आगामी दिनमा समयको सदुपयोग गर्न झनै सहज हुन्छ ।
मेरा मित्र को हुन् ?
कुनै पनि व्यक्तिले आफ्नो असल मित्रहरूको बारेमा जानकारी लिनु आवश्यक रहेको चाणक्यको भनाइ रहेको पाइन्छ । उनले आफ्नो ग्रन्थमा आफ्ना सच्चा मित्रका बारेमा जानकारी लिन सुझाएका छन् ।
कुनै पनि व्यक्तिले उसका सच्चा मित्र कति छन् भनेर जानकारी राख्नु आवश्यक हुन्छ । आफ्ना असल मित्रहरूको बारेमा जानकारी लिएर मात्रै उनीहरूसँग सहयोग माग्नुपर्ने हुन्छ । अन्यथा सहयोग माग्दा उल्टै असहयोग पाइने खतरा पनि रहिरहन्छ ।
म बसेको ठाउँ कस्तो छ ?
आचार्य चाणक्यका अनुसार जुन क्षेत्रमा तपाईं बस्नुहुन्छ, जुन क्षेत्रमा तपाईं काम गर्नुहुन्छ उक्त क्षेत्रको बारेमा पनि तपाईंलाई जानकारी हुनु आवश्यक छ । तपाईं कस्तो क्षेत्रमा बसिरहनुभएको छ त्यसले तपाईंको काम पनि प्रभावित भइरहेको हुन्छ ।
जीवनमा वास्तविक रूपमा सफलता चाहनेले आफू बसेको क्षेत्र, त्यस क्षेत्रमा बस्ने मानिसहरू तथा त्यहाँको वातावरणको बारेमा पनि जानकारी लिनु आवश्यक छ । यी कुरामा पनि सजग भए सफलता प्राप्त गर्न सकिन्छ ।
मेरो आम्दानी र खर्च कति छ ?
आचार्य चाणक्यका अनुसार कुनै पनि व्यक्तिलाई उसको आम्दानी र खर्चका बारेमा जानकारी हुनु आवश्यक छ । कतिपय अवस्थामा आम्दानीभन्दा बढी खर्च पनि भइरहेको हुन्छ । त्यसबाट जोगिनु आवश्यक छ ।
हामीलाई जीवनमा सफलताका लागि आम्दानी र खर्चको सन्तुलन मिलाउनु आवश्यक छ । आम्दानी र खर्चको सन्तुलन मिलाउन नसके त्यसले भविष्यमा झन् संकट थप्दै जाने गर्दछ ।
त्यसैले आफ्नो आयअनुसार खर्च गरेर भविष्यका लागि बचतसमेत गर्नु आवश्यक छ ।
मेरो क्षमता के हो ?
कुनै पनि व्यक्ति सफल हुनका लागि कडा परिश्रम, मेहनत तथा लगनशील भएर काम गर्नु आवश्यक छ । तर, कतिपय अवस्थामा यति मात्रैले पनि जीवनमा सफलता भने पाउन सकिँदैन ।
हरेक व्यक्तिका क्षमता अलग अलग हुन्छन् । सोहीकारण सबै व्यक्ति उस्तै कार्य गरेर सफल नहुन सक्छन् । त्यसैले कुनै पनि व्यक्तिले आफ्नो क्षमतको पहिचान गर्नु आवश्यक छ । क्षमताभन्दा भिन्न र क्षमताभन्दा अलग कामको जिम्मेवारी सम्हाल्नेहरू सफल हुन सक्दैनन् ।