ओमानको राजधानी मस्कटबाट ६०० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइने भएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मस्कटबाट शनिबार ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको हो ।
गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।
निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्ट्रेटर ४०० थान सिलिन्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए ।
उनका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पुर्याउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिन्डर शनिबारसम्म काठमाडौँ पुर्याउने प्रयासमा रहेको जनाएका थिए ।
ओमानपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने उनले बताए ।
निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ ।
नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०–१२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।
निगमको वाइड बडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो ।