अमेरिका । नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारणसभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ ।
सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूको उत्साहपूर्वक सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन एक विशेष शैलीमा गरिएको थियो । आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर कार्यक्रमको शुभारम्भ गरिन् ।
सम्मेलनमा नेपाल तथा अमेरिकाका प्रतिष्ठित व्यक्तिहरूले वक्ताको रूपमा सम्बोधन गरेका थिए । नेपालबाट ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरी (विशेष अतिथि) ले आफ्ना अनुभव सुनाए ।

त्यसैगरी, अन्तर्राष्ट्रिय वक्ता रायन म्यानली तथा फिन्ये आईईसीका संस्थापक तथा उपाध्यक्ष प्रकाश थापा र प्रबुद्ध दाहालले उद्यमशीलताका विविध पक्षमा प्रकाश पारेका थिए ।
सजन गौतमले सहजीकरण गरेको प्यानल छलफलमा सतीश गैरे, सुनिल साह, सुमन थापा, अनु तामाङ र प्रल्हाद गिरी जस्ता वक्ताहरूले उद्यमशीलता र आर्थिक वृद्धिका विषयमा महत्त्वपूर्ण दृष्टिकोणहरू प्रस्तुत गरेका थिए ।
यसैबीच, साधारणसभाले फिन्ये अमेरिका च्याप्टरको २०२५-२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिको अध्यक्षता सविन्द्र थापाले गरेका छन् ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण खकुरेल, उपाध्यक्षमा राज प्रकाश भण्डारी र रामहरि थापा, महासचिवमा अनु तामाङ, सचिवमा सोनी थापा र कोषाध्यक्षमा श्रद्धा थाकुरी चयन भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा अनिता गुरुङ, दीपक खरेल, चानी लामा, चक्रपाणि अधिकारी, नवराज आचार्य, रविन कार्की (र्यान), सुनिल गौतम र रेश्मा ताम्राकार रहेका छन् । त्यस्तै सञ्चार संयोजक तथा प्रवक्ताको जिम्मेवारी यूएस खबरका अध्यक्ष तथा प्रधान सम्पादक ओम आचार्यलाई दिइएको छ ।