काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका अध्यक्ष डीबी लामाले गाउँपालिकाका नागरिकमा कोरोना भाइरसका कारण कुनै समस्यामा भए गुम्स्याएर नराखी जनप्रतिनिधिलाई भन्न आग्रह गरेका छन् ।
'गाउँपालिकाका नागरिकहरूले कुनै समस्यामा रहेको अवस्थामा समस्या गुम्स्याएर नराखी आ-आफ्ना वडाको जनप्रतिनिधि कर्मचारी तथा स्वास्थ्यकर्मीसँग समस्या राखिदिनु हुन अनुरोध छ,' गाउँपालिका अध्यक्ष लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गाउँपालिका अध्यक्ष लामाले कोभिड रोकथाम एवं नियन्त्रणका शिलशिलामा विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
'गाउँपालिकाका १२ वटै स्वास्थ्य केन्द्रलाई सक्रिय तुल्याइएको छ । एक नम्बर वडामा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालबाट सेवा प्रवाह गरिआएको छ,' अध्यक्ष लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नमोबुद्ध नगरपालिकासँगको सहकार्यमा मेथिनकोट अस्पतालनजिक जनक बहुमुखी क्याम्पसमा झण बेडको अक्सिजनसहितको आइसोलेसन स्थापना गरिएको छ ।'
अध्यक्ष लामाले गाउँपालिकाले खरिद गरेका तीन वटा एम्बुलेन्सलाई २४ सै घण्टा सञ्चालन हुनेगरी प्रबन्ध मिलाइएको पनि जानकारी दिएका छन् ।
लामाले आईसीयू स्थापनाको लागि गाउँपालिका क्षेत्रमा उपयुक्त भवन, जनशक्ति एवम् उपकरणको अभाव हुने भएकाले जिल्लाका अन्य पालिकासँगको सहकार्यमा सुविधासम्पन्न आईसीयू तथा भेन्टिलेटरको प्रवन्धका लागि गाउँपालिका जतिसुकै रकमको साझेदारीका लागि तत्पर रहेको पनि जनाएका छन् ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरू दाहालले सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालन गरिदिन आग्रह गरेका छन् ।
विपत्तिको समयमा आत्तिएर भन्दा पनि धैर्यताका साथ समस्याको समाधान गर्न सकिने बताएका छन् ।
नागरिकको सेवामा गाउँपालिका सदैव तत्पर रहेको उल्लेख गर्दै दाहालले स्वास्थ्य मापदण्डको पालना, स्वास्थ्य सतर्कता अपनाएर विपतको सामनामा सहयोग पुर्याउन गाउँपालिकाबासीमा आग्रह गरेका छन् ।