काठमाडौं । प्रहरीले सिन्धुलीमा रहेको एसबीआई बैंकको शाखा कार्यालय लुटपाटमा संलग्न भएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबीआई बैंकको शाखा कार्यालयमा लुटपाट भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे र पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो ।
सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार पुस २९ गते साँझ साढे ७ बजे बैंकमा लुटपाट भएको थियो । उक्त लुटपाटमा संलग्नताको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको उनले जानकारी दिए । त्यस्तै एकजना भने अझै फरार छन् ।
एसपी सुवेदीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० का ४९ वर्षीय सुमो चालक भागवतसिंह थापा, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवनको भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठेगाना भएका १९ वर्षीय विवेक मगर, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एकजना नाबालक पक्राउ परेका छन् ।
उनीहरूले बैंकका गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते बनाइ बैंक भित्र छिरी नगद लुटेर उनीहरू फरार भएका प्रहरीले जनाएको छ ।
घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा बीएडी ०३९८ टाटा सुमो र चालक भागवतसिंहलाई फेला पारी निजलाई प्रारम्भिक रूपमा सोधपुछ गर्दा अपरिचित छ जनाले विवाहको लागि भनी उक्त टाटा सुमो काभ्रेको बनेपाबाट सोही दिन रिजर्भ गरी ल्याएको जानकारी पाएपछि चालकले दिएको हुलियाको आधारमा बैंक लुटपाटमा संलग्नको खोजीलाई तिव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।
नेपाल एसबीआई शाखा कार्यालय घ्याङलेख शाखाका अनुसार उक्त दिन बैंकबाट तीन करोड सात लाख पैसा लुटी उनीहरूले लगेका थिए । पक्राउ परेकाहरूलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा पाँच दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दुई करोड ६८ लाख ५५ हजार १७५ बरामद गरेको छ । साथै उक्त घटनामा प्रयोग भएका दुई थान खुकुरी, एक थान प्लाष्टिकको पेस्तोल, मोबाइल पाँच थान, ठूलो पानी टेप एक थान, कालो रङको नकाब तीन थान र रातो रङको नकाब एक थान, कालो पञ्जा एक जोर बरामद गरिएको छ ।