महोत्तरीको बर्दिबास नगरपालिका– ५ को चेरु ग्रामीण बस्तीमा कोभिड– १९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ ।
बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता सङ्क्रमण हुने क्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले ४० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेका छन् ।
विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् ।
पूर्वपश्चिम राजमार्गबाट छ/सात किलोमिटर उत्तर चुरे पहाडी शृङ्खलामा पर्ने यो बस्तीमा वैशाख १७ गते भएको वैवाहिक समारोहको जमघटयता सङ्क्रमण ह्वात्तै बढेको हो । बस्तीका ४० जनामा पीसीआर परीक्षणबाट सङ्क्रमण पुष्टि भइसकेको बर्दिबास नगरस्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका सहसंयोजक वरिष्ठ स्वास्थ्यकर्मी रामबाबु यादवले जानकारी दिए ।
बस्तीमा वैशाख २० गतेदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने र सास फेर्न अप्ठ्यारो हुने समस्या देखिन थालेपछि बस्ती केन्द्रित स्वाव सङ्कलन र परीक्षण थालिएको थियो । जाँच परिणामबाट बस्तीमा सङ्क्रमण जोखिम निकै बढेको पाइएको यादवको भनाइ छ ।
सङ्क्रमण बढेपछि बस्तीमा आम सर्वसाधारण त्रासमा परेसँगै सचेत पनि हुँदै गएका स्वास्थ्यकर्मीको ठम्याइ छ ।
ग्रामीण परिवेशको सो बस्तीमा स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । बर्दिबास नगरक्षेत्रमा वैशाख महिनाभित्र १०० को हाराहारीमा सङ्क्रमण पुष्टिका घटनामध्ये अन्य वडा बस्तीमा छिटफुट पाइए पनि चेरुमा भने डरमर्दो स्थिति बनेको छ ।
पछिल्लो एक/दुई दिनयता चाहिँ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तथा बर्दिबास नगरपालिका र बर्दिबास उद्योग वाणिज्य सङ्घले जारी गरेका सूचना प्रभावले सामूहिक हिँडडुल र जमघट घट्दै गएको र राष्ट्रव्यापी मानवीय क्षतिका घटना समाचारबाट आउँदा आम मानिस सचेत बन्दै गएको नगरप्रमुख विदुरकुमार कार्की बताउँछन् । यसबीचमा सङ्क्रमण देखिएका बस्तीमा सघन स्वाब परीक्षण, सचेतना प्रवाह र आइसोलेशनकक्षको व्यवस्थापनमा जुटिएको कार्कीको भनाइ छ ।
बर्दिबास नगरक्षेत्रमा सङ्क्रमण प्रभाव बढेपछि सामाजिक क्षेत्रबाट पनि रोकथामको पहलकदमीका लागि प्रयास थालिएका छन् । बर्दिबासचोकमा लियो क्लब अफ बर्दिबासले हेल्थ डेस्क स्थापना गरेर सर्वसाधारणको ज्वरो नाप्ने तथा सावधानी अपनाउनु पर्ने पक्ष बताउने गरेको छ ।