नेकपा (एमाले) बागमती प्रदेशसभाको संसदीय बोर्डले १४ जना प्रदेश सांसदलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
एमालेमा विवाद बढीरहेका बेला माधव नेपाल पक्षका प्रदेश सांसदमाथि मुख्यमन्त्री डोरमणि पौडेलले कारबाही प्रकृया अघि बढाएका हुन् ।
राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेले गृहमन्त्री रामबहादुर थापालाई पार्टीको उम्मेदवार बनाएको थियो । तर, माधव नेपाल पक्षले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो । राष्ट्रियसभामा देवकोटा थापालाई पराजित गर्दै विजयी भएका थिए ।
राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उनीहरूमाथि कारबाहीको तयारी गरिएको हो । उनीहरूमाथि आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाइएको छ ।
ती सांसदमाथि संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।
यी हुन् स्पष्टीकरण सोध्न लागिएका प्रदेश सांसदहरू :
- अष्टलक्ष्मी शाक्य
- राजेन्द्र पाण्डे
- अरुणप्रसाद नेपाल
- बसुन्धरा हुमागाईं
- लक्ष्मण लम्साल
- मुनु सिग्देल
- कुसुम कार्की
- मीना ज्ञवाली
- शान्तिप्रसाद पौडेल
- रचना खड्का
- कृष्ण खनाल
- वसन्त मानन्धर
- इन्द्रमाया गुरुङ
- पार्वती सिलवाल