काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले शुक्रबार निर्वाचन आयोगले गरेको निर्णयलाई अदालतमा चुनौती दिने भएको छ । त्यसका लागि बैठकले पूर्णबहादुर खड्कालाई चुनौती दिने निर्णय पनि गरेको छ ।
शनिबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको केन्द्रीय कमिटीलाई वैधानिकता दिने निर्णय कांग्रेसको विधानको व्यवस्थाविरुद्ध गरिएको निष्कर्स निकालेको छ ।
"तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ," कांग्रेसको निर्णयमा भनिएको छ ।
यो निर्णय पार्टीको विधिवत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय प्रष्ट देखिएको सो पक्षका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
"यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्रको एक अंश हो । निर्वाचन आयोगको दुरासयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णय विरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ," बैठकको निर्णयमा भनिएको छ ।
बैठकले आयोगको यो निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिने निर्णय गर्दै त्यसको अख्तियारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । "२०८२ माघ २ गते निर्वाचन आयोगले नेपालको संविधान, प्रचलित कानुन र नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानुनी काम कारबाही गर्नका लागि कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गर्दछ," विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ निर्णयः
माघ ३, २०८२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकले देहायको निर्णयहरू गरेको छ-
निर्णयहरू
१. नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले मिति २०८२ साल माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानून, राजनीतिक दलसँग जोडिएका कतिपय विवादहरूको निरुपण गर्दा निर्वाचन आयोगकै विगतका निर्णयहरूबाट स्थापित नजिरहरू, श्री शेरबहादुर देउवा सभापति रहनु भएको नेपाली कांग्रेसबाट निरन्तर रूपमा गरिएका पार्टीको निर्णयसँग सम्बन्धित जानकारीमूलक पत्राचार र बुझाइएका प्रमाणहरूलाई वेवास्ता र नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरिएको छ । तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय प्रष्ट देखिन्छ । यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्रको एक अंश हो । निर्वाचन आयोगको दुरासयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णय विरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ ।
२. २०८२ माघ २ गते निर्वाचन आयोगले नेपालको संविधान, प्रचलित कानून र नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानूनी काम कार्वाही गर्नका लागि कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गर्दछ ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव