पछिल्लो राजनीतिक परिदृश्य हेर्दा जनता समाजवादी पार्टी (जसपा) फुटको दिशातर्फ अग्रसर भएको देखिन्छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कालाई स्पष्टीकरण सोधेका छन् ।
ठाकुरले यादवलाई सात बुँदे स्पष्टीकरण सोधेका छन् भने यादवले ठाकुरलाई नौँ बुँदे स्पष्टीकरण सोधेका छन् । यादव पक्षले त ठाकुर पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पनि स्पष्टीकरण सोधेका छन् ।
धेरैको निष्कर्ष छ- यो स्पष्टीकरण भर्सेस स्पष्टीकरणले पुर्याउने भनेको अन्ततः पार्टी विभाजनसम्म हो । अचम्म त के भने पछिल्लो परिदृश्यले के देखाउँछ भने ठाकुर र यादव दुवै पार्टी फूटकै दिशामा अग्रसर भइरहेका छन् ।
यादव पक्षले महतोलाई ६ बुँदे र कर्ण तथा शुक्ललाई ५/५ बुँदे स्पष्टीकरण सोधेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधे पनि हालसम्म कसैले जवाफ फर्काएको छैन ।
गत जेठ ८ गते नै ठाकुरलाई स्पष्टीकरण सोध्ने यादव पक्षको निर्णय थिथो । स्पष्टीकरण सोधिएको ३ दिनभित्र चित्त बुझ्दो जवाफ नदिए कारबाही चेतावनी यादव पक्षले दिएको छ ।
जसपाको मुख्य विवाद केपी ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्नेबाट सुरू भएको देखिन्छ । र, यही विवादले जसपाको विभाजन गराउने सम्भावना रहेको देखिन्छ ।
ठाकुर र महतो केपी ओलीको समर्थनमा छन् भने यादव पक्ष ओलीको बहिर्गमनका पक्षमा छ । ओलीको विकल्पमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सघाउनु पर्नेमा यादव पक्षको जोड छ ।
यादव र ठाकुरले सोही अनुसार गतिविधि गर्दै आइरहेका छन् । यसको अर्थ जसपाक सिधासिधा रूपमा विभाजनको मार्गमा अग्रसर भइरहेको छ ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा ठाकुर पक्ष तटस्थ बस्यो भने यादव पक्षले विपक्षमा मत दियो । यही विवाद चर्कँदै जाँदा जसपा विभाजनको संघारमा उभिएको छ ।
यादवले ठाकुरलाई सोधेको नौ बुँदे स्पष्टीकरणमा के छ ?
१. प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको ?
२. पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक वेवास्ता गर्ने, अनुपस्थित हुने र आफ्नो समर्थकलाई मात्र बोलाई पार्टी विधान र आचारसंहिता विपरित गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको ?
३. पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदा हुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको ?
४. पार्टीको निर्णयबिना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरू लेख्ने पठाउने कार्य किन गरेको ?
५. जेठ ३ गते दुई अध्यक्षले जारी गरेको ८ बुँदे सहमतिको विज्ञप्ति पालना किन नगरेको ?
६. पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरी संघीय संसदलाई पत्र पठाएको ?
७. पार्टीको आधिकारिक निर्णयबिना सरकारसँग वार्ता गर्ने भनेर लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारसँग वार्ता कार्यदलमा किन पठाएको ?
८. विधानमा नभएको व्यवस्थालाई आफूखुशी स्वेच्छाचारिता लाद्ने र पार्टीलाई आफ्नो पाकेटको बनाउने कार्य एवम् क्रियाकलाप किन गरेको ?
९. उपरोक्त विषयहरूका आधारमा तपाईंबाट पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेको तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासन सम्बन्धी कारबाही किन नगर्ने ?
यादव पक्षले यस्तो स्पष्टीकरण सोधेपछि ठाकुरले यादवलाई सात बुँदे स्पष्टीकरण सोधे । ठाकुरले यादवलाई सोधेको स्पष्टीकरण यस्तो छ ।
हेर्नुस् उपेन्द्र यादवलाई सोधिएको सात बुँदे स्पष्टीकरण :
१. पार्टी एकता भएदेखि नै समायोजनमा रुची नलिइ विभिन्न जिल्लाहरूमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरू किन सञ्चालन गर्नुभयो ?
२. मेरो जानकारी वेगर अनधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठक बसी लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई किन निष्काशन गर्नुभयो ?
३. तपाईंले मिति २०७८–०२–०७ गते पार्टीद्वारा जारी गरिएको सर्कुलर बमोजिम कोभिड १९ को महामारीको बढ्दो संक्रमणले २०७८–०२–०८ र ९ गते निर्धारण गरिएको बैठक स्थगित गरिएकोमा कुन कारण र मनसायका साथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाई एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णयहरू गर्नुभयो ?
४. पछिल्लो समयमा मैले रोक्दा रोक्दै अनधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टीको केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठकहरू बसी पार्टी हितविपरीत विभिन्न खाले निर्णयहरू किन गर्नुभयो ?
५. विगतका दिनहरुमा पार्टी र पार्टी सम्बद्ध मोर्चा तथा संगठनद्वारा गरिएको संघर्ष र आन्दोलनको क्रममा आन्दोलनकारी साथीहरूमाथि लगाइएका झुठा मुद्दा फिर्ता, बन्दी रिहाइ, उत्पीडित जातजाति र समुदायहरूको समानुपातिक समावेशी प्रतिनिधित्व, समानता, पहिचान र अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधान संशोधन, नागरिकता सम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले गठित कार्यदलका सदस्यहरू श्री लक्ष्मणलाल कर्ण र श्री सर्वेन्द्रनाथ शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरू गरिरहेको अवस्थामा तपाईंलाई किन ठेस पुग्यो र के कारणले अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाउनुभयो ?
६. तपाईंले मिति २०७८ जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभा सदस्य श्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धनका उम्मेदवार श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८ जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गर्नुभयो ?
७. तपाईंले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठन बन्धनको रिटमा किन हस्ताक्षर गर्नुभयो ?
यादव पक्षले राजेन्द्र महतोलाई पनि ६ बुँदे स्पष्टीकरण सोधेको छ । यस्तो छ महतोलाई सोधिएको ६ बुँदे स्पष्टीकरण ।
१. प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको ?
२. पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदा हुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको ?
३. पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा तपाईं किन र के आधारमा संसदीय दलको नेता स्वयम् घोषित हुन पुग्नुभयो ?
४. पार्टीको आधिकारिक निर्णयबिना सरकारसँग वार्ता गर्ने भनि लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कार्यदल भएको कुरालाई किन र के आधारमा समर्थन गरी पार्टी नीति निर्णय विपरितको कामलाई प्रश्रय किन दिनुभयो ?
५. पार्टी विधानको व्यवस्था विपरित पार्टीभित्र स्वेच्छाचारिता लाद्ने र पार्टीलाई पकेट बनाउने काममा निरन्तर सहयोग तथा सघाउने कार्य किन गर्नुभएको ?
६. उपरोक्त विषयहरूका आधारमा तपाईंबाट पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेको तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासन सम्बन्धी कारवाही किन नगर्ने ? यस सन्दर्भमा यो पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्ट र चित्त बुझ्दो जवाफ प्राप्त नभएका तपाईलाई पार्टी विधानबमोजिम अनुशासनको कारवाही हुनेछ ।
त्यस्तै यादव पक्षले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पनि स्पष्टीकरण सोधेको छ । कर्ण र शुक्लालाई पाँच बुँदे स्पष्टीकरण सोधिएको छ । संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा दलको नेताको रुपमा स्वीकार गरेको उल्लेख छ ।
पार्टीको आधिकारिक निर्णयबिना सरकारसँग वार्ता गर्ने कार्यदलको रुपमा किन काम गरेको भनि कर्ण र शुक्ललाई प्रश्न गरिएको छ ।
पार्टी विधानमा नभएको काम कारबाहीहरूलाई पार्टी अनुशासन र आचारसंहिताविपरित पार्टीमा आफूखुशी स्वेच्छाचारिता बढाउने कामहरूलाई प्रश्रय दिएको स्पष्टीकरण पत्र उल्लेख छ ।
पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेको भन्दै पार्टी विधानबमोजिम अनुशासन सम्बन्धी कारबाही किन नगर्ने भनी प्रश्न गरिएको छ ।