पूर्वमन्त्री तथा नेकपा (माओवादि केन्द्र) का नेता गिरिराजमणि पोखरेलले कोरोनाविरूद्ध संयुक्त संयन्त्र बनाइ अघि बढ्न आग्रह गरेका छन् । उनले टोलहरूमा स्वयंसेवक समितिमार्फत महामारीविरूद्ध एकीकृत अभियान सञ्चालन गर्न पनि युवाहरूलाई आग्रह गरेका छन् ।
'संकटको यो घडीमा महोत्तरी जिल्लाका सम्पूर्ण राजनीतिक दलहरू, जनप्रतिनिधिहरू, समाजसेवी लगायतका सबै पक्षहरू मिलेर कोभिडविरूद्ध संयुक्त संयन्त्र बनाइ अघि बढ्न अनुरोध गर्दछु,' मंगलबार प्रेस वक्तव्य जारी गर्दै पोखरेलले भनेका छन्, 'युवाहरूले आ-आफ्नो ठाउँ र टोलहरूमा स्वयंसेवक समितिमार्फत कोभिड महामारीविरूद्ध एकीकृत अभियान सञ्चालन गर्न विशेष अपिल गर्दछु ।'
महामारीमा महोत्तरी पनि अछुतो नरहेको भन्दै पोखरेलले यसबाट मुक्त हुनका लागि आ-आफ्नो ठाउँबाट भरमग्दुर प्रयास गरिरहेको उनले बताएका छन् ।
उनले अति प्रभावित भंगाहा नगरपालिकाको वडा नं. ४ सिल गर्न, कोरोना परीक्षणको दायरा बढाउन तथा स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।
'हजारौँको संख्यामा संक्रमितहरूको मृत्यु र अस्पतालको बेडमा अक्सिजनको अभावले छटपटाइरहेका बिरामीहरूको यस्तो भयावह परिस्थितिमा सिंगो महोत्तरी जिल्ला पनि अछुतो छैन,' पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, 'महोत्तरी जिल्लाको बर्दिबास, भँगाहा, गौशाला, जलेश्वर, पिपरा, मनरासिस्वालगायतका पालिकाहरू र अन्य गाउँ वडा र टोलहरू समेत यस रोगको चपेटामा परिरहेका छन् ।'