सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका र हेलम्बु गाउँपालिकाले कोरोना भाइरसविरूद्धको खोप उलपब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् ।
सरकारले खोप उपलब्ध गराउन नसकी अनुमति दिए आफैँ किन्ने ती स्थानीय तहको तयारी छ ।
जनताको स्वास्थ्य नै सर्वोपरी भएकाले खोप किन्ने प्रकृया अघि बढाइएको ती स्थानीय तहको भनाइ छ । दुईवटा स्थानीय तहले कुल ६० हजार डोज खोप खरीद गर्ने तयारी गरेका छन् ।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढ्दै जाँदा ती स्थानीय तहले खोप खरिदको प्रकृया अघि बढाएका हुन् ।
संक्रमितको सङ्ख्या बढेसँगै चौतारा साँगाचोकगढी नगरपालिकाले ३० हजार र हेलम्बु गाउँपालिकाले ३० हजार डोज खोप खरीद गर्ने तयारी गरेका हुन् ।
सङ्घीय सरकारलाई खोप उपलब्ध गराउन अनुरोध गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले जानकारी दिए ।
'यदि सरकारले उपलब्ध गराउन नसके खरीदको लागि अनुमति मागेको हुँदा स्वीकृति पाउना साथ खरीद प्रक्रिया अगाडि बढाइनेछ,' तामाङले भने ।
अहिलेको अवस्थामा स्वास्थ्य नै ठूलो कुरा भएकाले आफू जनता बचाउने अभियानमा लागेको तामाङको भनाइ छ ।
नगरपालिकाभित्र सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि नगरपालिकाको बैठकले खोप खरीद गर्ने निर्णय गरेको उनले बताए ।
कोरोनाको दोस्रो लहरबाट प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित दर्जन कर्मचारीहरू पीडित बनिसकेका छन् ।
त्यस्तै सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिकाले पनि कोरोना विरूद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्दै संघीय सरकारलाई पत्राचार गरेको छ ।
खोप उपलब्ध गराउन नसके आफैँले खरीद गर्ने र त्यसका लागि अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
उनी पनि कोरनाबाट संक्रमित भइसकेका छन् ।
गाउँपालिकामा सङ्क्रमितको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।