सत्तारुढ नेकपा (एमाले) विभाजनको डिलमा पुगेपछि आपसी विवाद मिलाउन नेताहरू अनौपचारिक रुपमा सक्रिय भएका छन् ।
विभाजन रोक्न दोस्रो तहका अन्य नेताहरूले गृहकार्य गरिरहेका बेला पार्टीका महासचिव ईश्वर पोखरेलले थप अनौपचारिक परामर्श अघि बढाएका छन् ।
महासचिव पोखरेलले आज पार्टीका नेता योगेशकुमार भट्टराईसँग छलफल गरेका छन् ।
विद्यमान स्थिति र दुवै पक्षका प्रस्ताव तथा आवश्यकतालाई कसरी सम्बोधन गराउने र पार्टीलाई एकताबद्ध कायम राख्ने विषयमा छलफल भएको महासचिव एवं उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
नेता भट्टराईलगायत केही नेता नेपाल निकट मानिए पनि विपक्षीलाई प्रधानमन्त्री बनाउन गठबन्धन वा नयाँ पार्टी दर्ता गर्ने विषयमा असहमत भएकाले एकताका लागि अग्रसर भएको बुझिएको छ ।
महासचिव पोखरेलले गत महिना नेता नेपालसँग र भीमबहादुर रावललगायतसँग अलगअलग भेटवार्ता गरी पार्टी विभाजनमा नलान आग्रह गरेका थिए ।
त्यसैको निरन्तरतामा उनी थप सक्रिय भएको जनाइएको छ ।
नेताहरूको अनौपचारिक परामर्श जारी रहेकै कारण आज दिउँसो ४ बजेका लागि डाकिएको एमालेको स्थायी कमिटी बैठक बिहीबारका लागि सारिएको पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
केहीदिन यता संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र नेपा पक्षबाट सुरेन्द्र पाण्डे, भट्टराई र गोकर्णराज विष्टबीच निरन्तर एकताको गृहकार्य गरिरहेका छन् ।