काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपामा) विगत लामो समयदेखि चल्दै आएको विवाद समाधान भएको छ । विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले विवाद समाधानका लागि तयार पारेको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ ।
पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल, संकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य थियो । कार्यदलले पार्टीभित्रको विवाद समाधानका सलागि केही सुझावसमेत समेटेर आफ्नो प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा केपी शर्मा ओली प्रतिनिधि सभाको यो कार्यकालभर प्रधानमन्त्री रहने र उनी मूलतः सरकारको नेतृत्वमा केन्द्रित हुने तथा पार्टीको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित गर्ने कुरा उल्लेख रहेको नेकपाको उच्च स्रोतले जानकारी दिएको छ ।
जसअनुसार प्रचण्ड कार्यकारी अधिकारसहित मूलतः पार्टी बैठकहरुको सञ्चालन, निर्णय कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुनेछन् ।
गत मंसिर ४ गतेकै सहमतिको वरिपरि रहेर महासचिव पौडेल नेतृत्वको कार्यदलले आफ्नो प्रतिवेदन पार्टीका अध्यक्षद्वयलाई बुझाएको हो ।
सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । सोही कारण नेकपाको आन्तरिक विवाद बढेको थियो ।
आन्तरिक विवाद बढ्दै जाँदा पार्टी विभाजन नै हुन्छ कि भन्ने आशंकाहरु पनि गरिएको थियो । सोहीबीच पार्टीको विवाद समाधानका लागि अध्यक्षद्वयले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रतिवेदन तयार पारेर अध्यक्षद्वयलाई बुझाएसँगै नेकपाको आन्तरिक विवाद तत्कालका लागि समाधान भएको देखिएको छ ।