शुक्रबार बागमती प्रदेशसभाको बैठक थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको नीति तथा कार्यक्रमका सन्दर्भमा सांसदहरूले आफ्नो धारणा राखिरहेका थिए । नेपाली कांग्रेसका प्रदेशसभा सांसद नरोत्तम वैद्यले पनि त्यससम्बन्धमा आफ्ना धारणा राख्न थाले ।
संसदमा धारणा राख्ने क्रममा वैद्यले संसदीय मर्यादाविपरीत अभिव्यक्ति दिए । उनले प्रधानमन्त्री ओलीले सत्ता बचाउनका लागि जेसुकै सम्झौता गर्न खोजेको भन्दै कोही न कोही त नाथुराम गोड्से बन्नुपर्ने अभिव्यक्ति दिए ।
'आफ्नो सत्ता बचाउनका लागि जे कुरामा पनि पनि सम्झौता गरिराखेको छ । यो समयमा यदि खड्ग ओलीलाई यसै गरी नै छाड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह कोही नाथुराम गोड्से आवश्यकता पर्यो है अब यो देश बचाउनका लागि,' उनले भने, 'कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?'
प्रदेशसभामा वैद्यले ओलीलाई नरोके देश नै नरहने दाबी गरे ।
को हुन् गोड्से ?
प्रदेशसभामा बोल्ने क्रममा नाम लिएका गोड्से तिनै नाथुराम गोड्से हुन् जसले भारतका राष्ट्रपिता मानिने माहात्मा गान्धीको हत्या गरेका थिए । कट्टर हिन्दूवादी गोड्सेले सन् १९४८ जनवरी ३० मा गान्धीको हत्या गरेका थिए ।
वैद्यले प्रदेशसभामा नाम लिएका गोड्सेसँग उनीलाई जोडेर हेर्दा उनको अभिव्यक्तिको आसय प्रधानमन्त्री ओलीको 'हत्या' सम्म लाग्छ । जसका कारण उनको उक्त अमर्यादित अभिव्यक्ति विवादित बनिरहेको छ ।
गोड्से गान्धीका हत्यारा हुन् । उनले सन् १९४८ जनवरी ३० मा गान्धीमाथि तीन गोली प्रहार गरेका थिए । गोड्से मान्थे कि भारतको विभाजनका बेला गान्धीले भारतका मुसलमानहरूको राजनीतिक मागमा समर्थन जनाएको ठान्दथे ।
गोड्सेले नारायण आप्टे तथा अन्य ६ जना व्यक्तिको साथ लिएर गान्धीको हत्या गरेका थिए । एक वर्षको अदालती सुनुवाइपछि सन् १९४९ नोभेम्बर ८ मा गोड्सेलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
यद्यपी गान्धीका दुई छोराले सजाय रूपान्तरणको माग गरेका थिए । तर तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र उपप्रधानमन्त्री बल्लबभाइ पटेल तथा गभर्नर जनरल सी राजगोपालचारीले गान्धीका छोराहरूको प्रस्ताव अस्वीकार गरेका थिए । सन् १९४९ नोभेम्बर १५ मा अम्बाला सेन्ट्रल जेलमा गोड्सेलाई फासी दिइएको थियो ।
वैद्यको उक्त अभिव्यक्तिको नेकपा एमालेले आलोचना गरेको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार एक विज्ञप्ति प्रकाशित गरी वैद्यको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको उल्लेख गरेका छन् । उक्त अभिव्यक्तिमा मुलुकको फौजदारी कानुन पनि आकर्षित हुने भएको भन्दै सम्बद्ध राजनीतिक दलको पनि ध्यानाकर्षण गराएका छन् ।
‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’
त्यस्तै एमालेका नेता महेश बस्नेतले वैद्यलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारबाही गर्न उनले माग गरे ।
उनले महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र कतै बनिरहेको त छैन भन्दै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने बताए ।
एमाले बागमती प्रदेश संसदीय दलले वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ । दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले वैद्यले राखेको अराजक तथा गैरराजनीतिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरिएको दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।
त्यस्तै एमाले बागमती प्रदेशले वैद्यको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै कारबाही गर्न माग गरेको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा दण्ड दिनुपर्छ भनेका छन् ।
कांग्रेसको निर्देशन
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले आत्मालोचना गर्नुपर्ने बताएका छन् । सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन नपाइने शर्माको भनाइ छ ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीलाई रोक्न आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएपछि शर्माले उक्त टिप्पणी गरेका हुन् । उनले आवेगको बोली र भावनात्मक उत्तेजना भनेर उन्मुक्ति नहुने पनि उल्लेख गरेका छन् ।
'सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,' शर्माले ट्विटरमा लेखेका छन्, 'अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।'
नेपाली कांग्रेसले प्रदेशसभामा अमार्यदित टिप्पणी गरेको भन्दै आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिएको छ । बागमती प्रदेशस्थित कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले सांसद वैद्यले प्रदेशशभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको नीतिविपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु,' बानियाँले भनेका छन् ।
मागे माफी
वैद्यले शनिबारको प्रदेशसभा बैठकमा आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । उनले आत्मालोचनासहित हिजोको अभिव्यक्ति फिर्ता लिएका हुन् ।
'मैले हिजो प्रदेशसभामा बोल्ने क्रममा खुलस्त भएर बोलेँ । तर, त्यस क्रममा अभिव्यक्ति स्वतन्त्रताको अलि बढी नै उपयोग गरेजस्तो लाग्यो’, वैद्यले भने, ‘मेरो उक्त भनाइ रेकर्डबाट हटाइदिनुहुन सभामुखसमक्ष अनुरोध गर्दछु ।'