नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारका सहभागी भएका तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।
पार्टी ह्विपविपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित आज बसेको दलको बैठकले तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।
गत वैशाख ३ गते एमाले प्रदेशसभा सदस्य ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढाले माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेका थिए ।
फ्लोर क्रस गरेपछि एमालेले प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य नरहने गरी उनीहरूलाई निष्कासन गरेको थियो ।
सर्वोच्च अदालतले एमाले संसदीय दलकै सदस्यका रुपमा काम गर्न दिनू भन्ने अन्तरिम आदेश दिएपछि उनीहरू पुनर्स्थापित भएका थिए ।
दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रय थापा, शाही र बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो ।
सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।