काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार भदौ ९ गते मङ्गलबारदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरिएको हो ।
नयाँ तालिकाअनुसार भदौ ९ गते साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ । यस्तै १० गते आबुधाबीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ ।
यस्तै ११ गते नेपाल एयरलाइन्सले रियादबाट, हिमालयन एयरलाइन्सले दम्मामबाट र टर्किस एयरले इस्तानबुलबाट उद्धार उडान गर्नेछन् । टर्किस र कतार एयरलाइन्सले एक पटकमा एक सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने भएका छन् ।
यसअघि ती एयरलाइन्सले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड मिचेर जहाजभरि यात्रु ल्याइरहेका थिए । अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी एक सयभन्दा बढी यात्रु नल्याउन निर्देशनसमेत जारी गरेको छ ।
यस्तै १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्वालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट उडान गर्नेछ ।
त्यसैगरी भदौ १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियन एयरले कोरियाबाट उडान गर्ने निश्चित भएको छ ।
यस्तै १४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्वालालम्पुरबाट एकसाथ उडान गर्नेछन् भने १५ गते नेपालले दुबई र हिमालयनले आबुधाबीबाट उडान गर्ने तालिका सार्वजानिक भएको छ ।
यससँगै भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरिएको छ ।
गोरखापत्र दैनिकबाट ।