नेपाल पत्रकार महासंघ भक्तपुरको पहलमा भक्तपुरका पत्रकारहरूलाई कोभिड- १९ विरुद्धको खोप प्रदान गरिएको छ । उनीहरूलाई बिहीवार चिनीयाँ खोप भेरोसेलको पहिलो मात्रा दिइएको हो ।
बिहीबार करिब ३ दर्जनभन्दा बढी पत्रकारहरूले चिनीयाँ खोप भेरोसेलको पहिलो मात्रा प्राप्त गरेका महासंघका सचिव संजीप घिमिरेले बताए ।
घिमिरेका अनुसार महासंघको पहलमा पत्रकारहरूलाई खोप उपलब्ध गराइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, कटुन्जे भक्तपुरको सहयोग र जनस्वास्थ्य केन्द्र च्याम्हासिंह भक्तपुरको समन्वयमा बिहीबार पत्रकारलाई खोप लगाउने कार्यक्रम गरिएको उनले जानकारी गराए ।
महासंघको अनुरोध स्वीकार गरी कोभिड महामारीको समयमा पनि जनतालाई सुसूचित गर्ने पेशागत कर्म गरिरहेका पत्रकारहरूका लागि खोप उपलब्ध गराएकोमा अध्यक्ष जगत कृष्ण प्रजापतिले बागमती प्रदेश सरकार, जिल्ला जनस्वास्थ्य कार्यालय, जनस्वास्थ्य केन्द्र लगायत सहयोगीहरूप्रति आभार प्रकट गरे ।
महामारीको समयमा आफ्ना सदस्यहरूको जीवन रक्षाका लागि खोप दिलाउन सफल भएको भन्दै भक्तपुर महासंघका सदस्य समेत रहेका सस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्षहरू विकल श्रेष्ठ र अमर भूजु, निवर्तमान केन्द्रीय उपाध्यक्ष दिलिप थापामगर लगायतले वर्तमान कार्यसमितिप्रति सन्तोष व्यक्त गरे ।
त्यसैगरी महासंघका केन्द्रीय महासचिव रोशन पुरीले खोपका लागि पहल गरी प्राप्त गर्न सफलता प्राप्त गरेकोमा भक्तपुर शाखालाई बधाई समेत दिएका महासंघले जनाएको छ ।