काठमाडौं । कार्यदल नै गठन गरेर आन्तरिक विवाद समाधानका लागि पहल गरिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानउन्मुख भएको छ । विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गरेको छ ।
प्रतिवेदनमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो प्रतिनिधि सभाको कार्यकालभरी सरकारको नेतृत्व गर्ने कुरा उल्लेख छ भने अध्यक्ष प्रचण्डले पार्टी कामको मूल जिम्मेवारी लिने उल्लेख छ । यससँगै संघीय सरकारमा रहेका केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुने र त्यसका लागि बालुवाटारले तयारी अघि बढाएको छ ।
अध्यक्षद्वयले विवाद समाधानका लागि गठन गरेको कार्यदलले संघीय र प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएपछि बालुवाटार संघीय र प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा जुटेको स्रोतको दावी छ । सोही कार्यको तयारीस्वरुप केही मन्त्रीहरुलाई हटाउने गृहकार्य बालुवाटारले आन्तरिक रुपले अघि बढाएको बताइएको छ ।
को को छन् डेन्जर जोनमा ?
बालुवाटार स्रोतका अनुसार करिब दर्जन मन्त्रीहरुलाई हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा नेकपाका अध्यक्षद्वयबीच छलफल सुरु भएको छ । अध्यक्षद्वयको मंगलबारको भेटवार्तामा यो विषयले प्रवेश पाएको छ । हटाइने सूचीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललगायतका केही मन्त्रीहरु छन् ।
त्यस्तै वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री बीना मगर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, खेलकुदमन्त्री जगत विश्वकर्मा, श्रममन्त्री रामेश्वर राय यादव पनि डेन्जर जोनमा परेका छन् । उनीहरुले अब विस्तार हुने मन्त्रिपरिषदमा स्थान पाउने सम्भावना कम रहेको देखिएको छ । बालुवाटारले मन्त्रीहरुको कार्यसम्पादनका विषयमा मार्किङ सुरु गरेको छ । दुईवर्ष पुगेका मन्त्रीहरुमध्ये कमजोर कार्यसम्पादन भएका र विवादमा परेका मन्त्रीहरुले विदा पाउने भएका छन् ।
त्यस्तै मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे, प्रभु साह, तुलसा थापा, खगराज अधिकारी, विशाल भट्टराई तथा देवेन्द्र पौडेल मन्त्री बन्ने सम्भावना छ । मन्त्रिपरिषद पुनर्गठन हुँदा मन्त्री बन्नेहरुका लागि सम्भावित मन्त्रालयको सम्बन्धमा पनि तयारी भएको बुझिएको छ ।
जसअनुसार जनार्दन शर्माले गृह वा उर्जामध्ये एक मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ । त्यस्तै पम्फा भुसालले सञ्चार, भीम रावलले परराष्ट्र वा रक्षा, सुरेन्द्र पाण्डेलाई अर्थ वा भैतिक पूर्वाधार तथा यातायात, प्रभु साहलाई शिक्षा या श्रम, तुलसा थापालाई खानेपानी, खगराज अधिकारीलाई स्वास्थ्य, विशाल भट्टराईलाई खेलकुद मन्त्री बनाउने भित्री तयारी रहेको बुझिएको छ ।
त्यस्तै टोप बहादुर रायमाझी, सोमप्रसाद पाण्डे, अमनलाल मोदी, राजेन्द्र गौतम, यज्ञ सुनुवार गणेश ठगुन्न, प्रेम आले, विरोध खतिवडा, छविलाल विक, हरिवोल गजुरेल पनि नवगठित मन्त्रिपरिषदमा सहभागी हुने चर्चा चलेको छ ।
उता केही समययता प्रदेशका मुख्यमन्त्रीहरु पनि परिवर्तन गर्नसक्ने भन्दै चर्चा भइरहे पनि मुख्यमन्त्रीहरुलाई निरन्तरता दिएर प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको पनि बुझिएको छ । मुख्यमन्त्री परिवर्तन नगर्ने कार्यदलमा सहमति भएको कार्यदलका एक सदस्यले बताए ।
कहिले हुन्छ पुनर्गठन ?
नेकपाको सचिवालय र स्थायी कमिटीको बैठकलगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने प्रवल सम्भावना छ । बालुवाटारले त्यसको तयारी अघि बढाएको छ । यद्यपी कोरोना भाइरसका कारण सिर्जित समस्याले गर्दा स्थायी कमिटीको बैठक अगावै पनि मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने सम्भावना रहेको भन्दै तयारीलाई अघि बढाइएको स्रोतको दावी छ । संघीय मन्त्रिपरिषद पुनर्गठनपछि प्रदेश मन्त्रिपरिषदको पनि पुनर्गठन हुने भएको छ ।