प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुपाल्चोक पुगेर असार १ गते आएको बाढीले पुर्याएको क्षतिको निरीक्षण गरेका छन् । ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।
त्यसक्रममा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए । मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे उनले जानकारी गराएका थिए ।
ओलीले राजनीतिक आस्थाभन्दा माथि उठेर बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई आग्रह गरे । उनले विपतको समयमा राजनीति गर्नु उपयुक्त नभएको बताए ।
त्यसक्रममा ओलीले बाढी प्रभावित ३६६ घरपरिवारलाई ५० हजारका दरले एक करोड ८३ लाख सहयोग हस्तान्तरण गरे । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उक्त रकम हस्तान्तरण गरिएको हो ।
त्यस्तै मेलम्ची खानेपानी आयोजनाबाट हेलम्बु गाउँपालिकालाई दुई करोड ५० लाख, मेलम्ची नगरपालिकालाई एक करोड ३६ लाख, पाँचपोखरी थानपाल गाउँपालिकालाई दुई करोड र इन्द्रावती गाउँपालिकालाई १५ लाख बराबरको तारजाली हस्तान्तरण गरिएको छ ।
त्यसैगरी साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडबाट एक हजार ५०० बण्डल जस्तापाता उपलब्ध गराइएको छ । ओलीको साथमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वमन्त्री शेरबहादुर तामाङ पनि सिन्धुपाल्चोक पुगेका थिए ।
तस्वीरहरू : प्रधानमन्त्रीको सचिवालय