काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक नियुक्तिमा आफूविरुद्ध लागीरहेको आरोपमा सत्यता नभएको प्रष्टिकरण दिएका छन् ।
अर्थ मन्त्रालयले वाणिज्य बैंकको सञ्चालकमा ईश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय सँगै उपप्रधानमन्त्री पोखरेलको सम्धी भएकै कारण कोइरालाले पटक–पटक सरकारी नियुक्ति पाएको भन्दै पत्रपत्रिका तथा सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो ।
आफ्नो आलोचना हुँदै गएपछि पोखरेलले बुधबार फेसबुक स्टाटसमार्फत् प्रष्टिकरण दिएका हुन् । उनले नियुक्तिको विषयमा आफूविरुद्ध अबाञ्छित आरोप लगाइएको पनि दावी गरेका छन् । साथै त्यसलाई आफूले ‘घृणापूर्वक अस्वीकार’ गर्ने उनको भनाइ छ ।
‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन,’ पोखरेलले भनेका छन्, ‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु ।’
उनले आरोप प्रमाणित भए सार्वजनिक रूपमा सजायको भागिदार हुने पनि उल्लेख गरेका छन् । ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका÷गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण आफूले यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको र अहिले ुविगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले आफू बिरूद्ध स्वर उरालिरहेको बताएका छन् ।
पढ्नुस् पोखरेलको स्टाटस ।
सबै महानुभावहरूमा अनुरोध !
——————————
केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दुस्खित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु । विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् १ म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु( तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै र कहिल्यै कमजोर हुन दिने छैन किमार्थ टुट्न दिने छैन !!
- ईश्वर पोखरेल
१० भदौ, २०७७