काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना रहेका छन् ।
योसँगै उपत्यकामा कूल संक्रमितको संख्या ४ हजार १९ पुगेको छ । जसमध्ये भक्तपुरमा ३ सय २४, ललितपुरमा ५ सय १० र काठमाडौंमा ३१ सय ८५ रहेको छ ।
हालसम्म १ सय ७५ को मृत्यु
कोरोना भाइरसको कारण नेपालमा हालसम्म १ सय ७५ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा बुधबार कोरोना भाइरसबाट थप ११ जनाको ज्यान गएको पुष्टि भएको हो । जसमा २ महिला र ९ जना पुरुष रहेका छन् ।
मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिला, कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुष, बाँकेमा ३७ वर्षीय पुरुष, काठमाडौंमा ५१ वर्षीय पुरुष र बारामा ४१ र ४६ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।
योसँगै देशभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगेको छ ।
बुधबार थपिए ८ सय ८५ संक्रमित
बुधबार मात्रै ८ सय ८५ जनामा संक्रमण देखिएको छ । जसमध्ये २ सय ९९ जना महिला र ५ सय ८६ जना पुरुष रहेका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।