राजन गाउँले, सिन्धुली । सिन्धुलीमा पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि आइसोलेसन भवन निर्माण कार्य सुरु भएको छ । उक्त भवन ५० वेड हुने जनाइएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शिवनगरमा बागमती प्रदेशका सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालको अग्रसरतामा ३ करोड ३६ लाख रुपैयाँको लागतमा सो आइसोलेसन अस्पताल निर्माण थालिएको हो ।
सांसद दाहालको अग्रसरता तथा सिन्धुली अस्पतालको संयोजनामा तीनसाताभित्र निर्माण सम्पन्न गर्नेगरी अस्पतालको निर्माण थालिएको अस्पताल निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा नेपाल रेडक्रस शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए ।
गत बुधबार सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सदरमुकाममा आइसोलेसन निर्माण गर्नुपर्ने निश्कर्ष निकालेको थियो ।
बैठकले रेडक्रस सभापति श्रेष्ठको अध्यक्षतामा सर्वपक्षिय अस्पताल निर्माण उपभोक्ता समिति गठन गरिएपछि अस्पताल निर्माणको काम तिव्रगतीका थालिएको हो । यहि भदौ २५ गतेसम्ममा आइसोलेसन अस्पताल निर्माण सम्पन्न गरिने छ । ‘अस्पताल ट्रष्ट राखेर ईटाको गाह्रो जोडेर बनाईने छ भने यो विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको हुनेछ,’ श्रेष्ठले भने । ५० वेडको आइसोलेसन अस्पतालमा तीन वटा आईसियु सहितको बेड हुने छ ।
आईसोलेसन अस्पताल निर्माणमा ९७ लाख रुपैयाँ बागमती प्रदेसको सामाजिक विकास मन्त्रालय सहयोग गर्ने छ । कमलामाई नगरपालिकाले ३ लाख रुपैयाँ नगद सहयोग गरेको छ भने नगरका निर्माण उपकरण प्रयोग गरिएको छ । उता सुनकोसी गाउँपालिकाले आवश्यक गिटी र बालुवाको व्यवस्थापन गरेको छ । बाँकी रकम स्थानीय तह, सामाजिक संघ संस्था र व्यक्तिसँग सहयोग जुटाइने छ ।
अस्पताल निर्माणमा अनुगमन समितिका संयोजक समेत रहेका प्रदेश सांसद दाहाल स्वयम श्रमदानमा सक्रिय भएका छन् । कोरोनाको जोखिमलाई समाना गर्न नागरिकको स्वास्थ्य सुरक्षामा गम्भीर हुँदै दाहालसंगै जिल्लाका जनप्रतिनीधिहरु, सुरक्षा निकाय, संघसंस्थाका प्रतिनीधिहरु सक्रिय भएर लागि परेका हुन् ।
पछिल्लो समय जिल्लामा एकै पटक दर्जनौंको संख्यामा कोरोनो संक्रमितहरु भेटिएपछि भेन्टिलेटर, आइसियू सहितको आइसोलेसन निर्माण गर्न दवाव आइरहेको थियो । उक्त भवनमा समेत आइसियु, भेन्टीलेटर सहितको आइसोलेसन बनाईने बताइएको छ । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलादकुमार पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेको हो ।
उक्त समितिमा वडा अध्यक्ष उज्वलकुमार थापा, उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार, निर्माण व्यवसायि संघका अध्यक्ष तुलसीराम श्रेष्ठ, निर्माण व्यवसायि उद्धवप्रसाद दाहाल लगायत रहेका छन ।
यस्तै भवन निर्माणमा गठन गरिएको अनुगमन समितिमा प्रदेश सांसदहरु लेखनाथ दाहाल, विनोदकुमार खड्का, प्रदीप कटुवाल, बुद्धिमान माझी, जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा तिवारी, कमलामाई नगरपालिकामा मेयर खड्गबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेल, नेपाली काँग्रेसका सभापति उज्जलप्रसाद बराल, नेकपाका सूर्य पाख्रिन, जनता समाजवादी पार्टीका मोदनाथ तिमल्सिना, नेपाल पत्रकार महासंघका राजन कार्की रहेका छन ।
जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि भएका बिरामीको संख्या ३४ जना पुगको छ । ती मध्ये १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लामा हाल ५८ वटा आइसोलेसन र ५ सय ३५ वटा क्वारेन्टाईन बेड रहेका छन् । जिल्लामा हालसम्म ५ सय ७३ पिपिई सेट र १ सय ५७ वटा थर्मल गन रहेको तथ्यांक छ ।