नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी खोल्न हतार गरेको टिप्पणी गरेका छन् । निर्णायक मोडमा पुगेपछि नेपालको साथ छोडेका नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले आज आफ्नै निवास बालकोटमा भट्टराईलगायत विगतमा माधव नेपाललाई साथ दिँदै आएका स्थायी कमिटी सदस्यसँग भेटवार्ता गरेका थिए । ओलीसँगको भेटपछि भट्टराईले उक्त प्रतिक्रिया दिएका हुन् ।
'अलग पार्टी दर्ता प्रक्रियामा रहेका नेताहरुलाई स्थगित गरेर पार्टी एकतामार्फत ऐतिहासिक रुपमा लाग्नको लागि भोलिको स्थायी कमिटी बैठकले आह्वान गर्छ,' भेटपछि भट्टराईले भने ।
नेता नेपालसँग सहकार्य गरे पनि पार्टी विभाजनको पक्षमा आफूहरू नभएको उनले बताए । नेपाललाई पार्टी एकताको पक्षमा उभिन आग्रह गर्दै पार्टीमा भएका कारबाहीको विषय स्वतः अमान्य हुने ओलीले प्रतिबद्धता जनाएको बताए ।
‘पार्टी विभाजनको बाटोमा हाम्रो साथ हुँदैन भनेर भन्दै आएको हौँ । तर, उहाँले हतारमा पार्टी स्थायी कमिटीको टिमसँग निर्णायक छलफल नगरी केन्द्रीय कमिटीको म्यान्डेटभन्दा बाहिर जानुभयो । धेरै केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यलाई जानकारी नै गर्नुभएन,’ उनले भने ।
पार्टीमा कसैलाई नराम्रो व्यवहार गर्न नहुने भन्दै उनले एकता जोगाउनका लागि सबैले धैर्यधारण गर्नुपर्ने बताए। अध्यक्षसँग विमति भएको विषयमा बैठकमै कुरा राख्नुपर्ने उनको भनाइ छ।
ओली र नेपालबीच सहमतिमा हल गर्नको विकल्पबारे छलफल गरेर कार्यदलले निष्कर्ष निकालेको उनले बताए । विवाद समाधान कार्यदलले १० बुँदे सहमति लाई नै पार्टी एकताको बिन्दु भएको उनको भनाइ छ ।