क्यान्सरपीडित जसमाया राईको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । भोजपुरस्थित आमचोक गाउँपालिका- ५ कि २८ वर्षीया राईको उपचारका लागि सहयोग जुटाएर उनीहरुले साढे ७ लाखभन्दा बढी रकम उपलब्ध गराएका हुन् ।
देश विदेशमा आर्थिक सहयोग संकलन अभियान चलाएर संकलन गरिएको ७ लाख ७३ हजार ७२१ रुपैयाँ सहयोग रकम राईको खातामा जम्मा गरिएको मलेसियाबाट सहयोग संकलन अभियानमा जोडिएका अभियान्ता दिलिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरूले यो अभियान विगत तीन महिनादेखि चलाइरेहका छन् ।
श्रेष्ठले दिएको जानकारीअनुसार राई तीन वर्षपहिलेदेखि क्यान्सरपीडित हुन् भने विगत तीन महिनादेखि झापाको एक अस्पतालमा उपचाररत छिन् ।
राईको उपचारका लागि मलेसिया, कतार, दुबई (यूएई), कुवेत, सिङ्गापुर, दक्षिण कोरिया, अमेरिका, साउदी अरेबिया, पोर्चुगल, नेपाल लगायतको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय देशबाट विभिन्न सहयोगी दाताहरूबाट संकलन गरिएको श्रेष्ठले जानकारी दिए ।
राईको उपचारका लागि थप आर्थिक समस्या पर्ने भएकाले इच्छुक व्यक्तिले सहयोग गर्न सक्ने श्रेष्ठले बताए । राईको उपचार सुरूमा नेपाल मेडिकल कलेज जोरपाटीमा गरिएको थियो । पछि उनलाई थप उपचारका लागि भारतको राजिब गान्धी अस्पताल लगिएको श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार अहिले राईको उपचार राजीब गान्धी अस्पतालमा भइरहे पनि कोरोनाका कारण धर्मशीला अस्पतालमा रिफर गरिएको छ । राईको उपचारमा करिब ७ लाख खर्च भइसकेको श्रेष्ठले जानकारी दिए । उनको उपचारका लागि ठूलो रकम आवश्यक परेको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिदिन श्रेष्ठले आग्रह गरेका छन् ।
श्रेष्ठका अनुसार डाक्टरको सल्लाहअनुसार अहिले उनको झापाको एक अस्पतालमा उपचार भइरहेको छ ।