नेकपा (एमाले) विभाजनको असर बागमती प्रदेश संसदीय दलमा पनि परेको छ । दुई साताअघि मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजन भएसँगै अल्पमतमा परेकी हुन् ।
एमालेबाट विभाजन भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) मा १२ जना सांसदले सनाखत गरेपछि शाक्य अल्पमतमा परेकी हुन् । ५६ सांसदमध्ये १२ जनाले समाजवादीको पक्षमा सनाखत गरेपछि अब एमाले संसदीय दल ४४ सदस्यीय भएको छ । योसँगै बागमती प्रदेशमा एमालेले बहुमत गुमाएको छ । बहुमतका लागि ५५ सांसद चाहिनेमा एमालेसँग ४४ सांसद रहे ।
यता १२ जना सांसद रहेको माधवकुमार नेपाल नेतृत्वको समाजवादीबाट मुख्यमन्त्रीका उम्मेदवारलाई २२ सांसद रहेको कांग्रेस र २३ सांसद रहेका माओवादीले समर्थन रहने छ ।
समाजवादीको १२, कांग्रेसको २२ र माओवादीको २३ गरी ५७ सांसद हुनेछन् । यसो हुँदा सरकार बनाउन आवश्यक सङ्ख्या पुग्छ । यसकारण शाक्यलाई हटाएर बागमतीको मुख्यमन्त्रीमा समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन तयारी थालिएको छ ।
मंगलबार एमालेका १२ जना सांसदले समाजवादीमा सनाखत गरेसँगै पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी थालिएको छ ।
मंगलबार सत्तारुढ एमालेका १२ जना सांसदले समाजवादीमा सनाखत गरेपछि अबको ३० दिनभित्र मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहन्छ ।
शाक्यलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने समाजवादीको रणनीति छ । पार्टी र सरकारमा एकै व्यक्तिलाई जिम्मेवारी नदिने माधव नेपालको रणनीतिअनुसार पार्टी महासचिवका दाबेदार पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउन लागिएको हो । पाण्डे मुख्यमन्त्री बनेमा समाजवादीको महासचिव गंगालाल तुलाधर र डा. विजय पौडेलमध्ये एक बन्ने छन् ।
कांग्रेस र माओवादीको समर्थनमा बागमती प्रदेशको सरकार परिवर्तन गर्न तयारी गरेका माधव नेपालले सरकारमा समेटेकालाई पार्टी जिम्मेवारी नदिने र पार्टीको जिम्मेवारी लिएकालाई सरकारमा नपठाउने रणनीति लिएका छन् ।