नेपालमा कोरोनाविरुद्धको सवा ३ करोड डोज खोप आउने निश्चित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भएको हो ।
त्यसमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अरु कम्पनीका खोप पनि आउनेछन् ।
भारतबाट कोभिसिल्ड खोपको १० लाख मात्रा तत्काल आउन लागेको बताइएको छ । त्यस्तै चीनबाट थप १६ लाख मात्रा खोप अनुदानमा आउने भएको छ ।
मन्त्रालयका अनुसार दशैँलगत्तै एक लाख मात्रा फाइजर खोप आउने छ । फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई समेत लगाउन मिल्ने खोप हो ।
त्यस्तै माल्दिभ्सबाट पनि दुई लाख मात्रा खोप आउने भएको छ । माल्दिभ्सबाट आउने भनिएको खोप पनि छिटै आउने मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै क्यानडाबाट पनि खोप ल्याइने भएको छ । क्यानडाबाट चार लाख मात्रा खोप आउने छ । यसैगरी, फाइजर खोप ६० लाख मात्राका लागि पनि प्रक्रिया सुरु भइसकेको छ ।
मन्त्रालयका अनुसार मोडर्ना खोप ४० लाखका लागि पनि सुनिश्चित भएर प्रक्रियामा रहेको छ । आगामी पुसभित्र सवा करोड खोप नेपाल आइसक्ने र नेपालले कोभ्याक्स सुविधामार्फत पाउने ६० लाख मात्रा खोप आउन बाँकी रहेको बताइएको छ ।
नेपालमा हालसम्म एक करोड ७८ लाख ५८ हजार मात्रा खोप यसअघि नै आइसकेको छ ।