विगत केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । ठाउँठाउँमा सयौँ परिवार विस्थापित भएका छन् भने विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन् ।
बाढी तथा पहिरोमा परी बुधबार (आज) मात्रै ५० जनाभन्दा बढीको मृत्यु भएको छ । आज साँझसम्म ७७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २७ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २२ जना घाइते भएका छन् भने २७ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ । त्यस्तै इलाममा १३ र डोटीमा १२ जनाले बाढी तथा पहिरोका कारण ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, बझाङमा २, हुम्लामा ६, सोलुखुम्बु र प्यूठानमा एक/एक, धनकुटामा ७, मोरङमा १, सुनसरीमा २ र उदयपुरमा २ जनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परी बझाङका २१ जना अझै हराइरहेको पाण्डेले जानकारी दिइन् । उनका अनुसार जुम्लामा १, प्यूठानमा २ र इलाममा तीन जना अझै बेपत्ता छन् ।
असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ ।
सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने तीन लाख दिइने छ ।
आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।