नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । पीडित किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका हुन् ।
त्यस्तै बाढीपहिरोमा फसेकाहरूको उद्धार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग उनको माग छ ।
बुधबार एक वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्- ‘बाढीपहिरोमा फसेकाहरूको उद्दार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु ।’
बाढी पहिरोमा परी बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरूलाई प्रचण्डको आग्रह छ ।
हेर्नुस् प्रेस विज्ञप्तिः
प्रेस विज्ञप्ति
पछिल्ला तीन दिनदेखि देशभर परेको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नं. १, सुदुरपश्चिम प्रदेश लगायत देशका विभिन्न भागहरुमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरि यस प्राकृतिक विपद्मा परी झण्डै तीन दर्जन भन्दा बढी नागरिक सम्पर्कबिहिन भएका छन् । धानवाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ ।
यस विपद्मा ज्यान गुमाउनुभएकाहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बाढीपहिरोमा परी बेपत्ता हुनभएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा विशेष आग्रह गर्दछु ।
बाढीपहिरोमा फँसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु । बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु ।
०३ कार्तिक, २०७८
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष