नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले उडान भर्न लागेको हो ।
पछिल्लो समय आएको बाढीपहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको सडक अवरुद्ध छ । जसका कारण एयरलाइन्सहरूमा यात्रुको चाप बढेको छ ।
सोही कारण यात्रुहरूको सहजताका लागि नेपाल वायु सेवा निगमको जहाजले पनि उडान भर्न लागेको हो ।
मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमित रूपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी गरेको वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए।
उनले भने, ‘बाजुरामा हाम्रो जहाज सञ्चालन थियो अब मन्त्रीको निर्देशनपछि बझाङ, बजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुनेछ ।’
वर्षाका कारण बाढी, पहिराले राजमार्ग अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई यातयात सेवाका लागि निकै सास्ती हुँदै आएको छ । बाढी, पहिराले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुगेका मन्त्री आलेलाई त्यहाँका नागरिकले बाढी, पहिराले बाटाघाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेपछि उनले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका हुन् ।
मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि कैलालीको धनगढी विमानस्थलबाट जहाज चलाउनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ।