नेकपा (एमाले) को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला छन् । एमालेको नवौँ महाधिवेशनमा पाँच लाख ९१ हजार सङ्गठित सदस्य थिए । दशौँ महाधिवेशनमा आइपुग्दा एमालेले एक लाख ९८ हजार सङ्गठित सदस्य थप गरेको छ ।
एमालेको दशौँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा २०७७ चैतमसान्तसम्म सदस्यता लिएका व्यक्तिले मात्र महाधिवेशनमा प्रतिनिधि चयन हुन पाउनेछन् । एमाले महाधिवेशनका लागि कात्तिक २७ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्दैछ । महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् ।
सङ्गठित सदस्यबाट १०० उठाउने
एमालेले महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ । पार्टीका सङ्ठगित सदस्यबाट न्यूनतम एक सय लेबी उठाउने भएको हो ।
'महाधिवेशनमा लाग्ने खर्च यसपटक हामीले पार्टीका नेता तथा कार्यकर्ताबाट उठाउने निर्णय गरेका छौँ,' तामाङले भने, 'सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँ र स्वैच्छिक १०० भन्दा बढी जति पनि दिन पाउने गरी सङ्गठित सदस्यबाट पैसा उठाउँछौँ ।'
पार्टी मातहतका सबै कमिटीलाई सर्कुलर जारी गर्दै बैंकमा पैसा जम्मा गर्न लगाइने सचिव तामाङले बताए । पार्टीले स्वतः हुने प्रतिनिधिबाट तीन हजार र निर्वाचनबाट छनोट गरिने प्रतिनिधिबाट दुई हजारका दरले महाधिवेशन शुल्क तोकेको छ ।