काठमाडौं । कोरोना संक्रमणको कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।
उनका छोरा अभिजितले मुखर्जीले निधनको पुष्टि गरेको बिबिसी हिन्दीमा उल्लेख छ ।
स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराष्ट्रपति मुखर्जी केही साताअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
‘ब्लड क्लट’ का कारण मुखर्जीको दिमागको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा गएका थिए ।
गत अगस्त १० मा उनी आफैंले ट्विटमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको घोषणा गरेका थिए ।
अस्पतालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिन यता मुखर्जीको स्वास्थ्यमा गिरावट देखिएको र फोक्सोमा देखिएको इन्फेक्सनका कारण ‘सेप्टिक शक’ भएको जानकारी गराएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मुखर्जीको मृत्युबाट नेपालले एक महान मित्र गुमाएको भन्दै ट्वीट गरेका छन् ।
‘उहाँको निधनबाट नेपालले एक महान मित्र गुमाएको छ । सार्वजनिक जीवनको विभिन्न हैसियतमा रहँदा उहाँले नेपाल–भारत सम्बन्ध बलियो बनाउन पुर्याएको योगदान हामी सम्झिरहन्छौं ।’
प्रधानमन्त्री ओलीले भारत सरकार, भारतीय जनता र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
मुखर्जीको सोमबार अपराहन्न दिल्लीस्थित सैनिक अस्पतालमा उपचारको क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।