एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोह गर्नुपरेको बताएका छन् । एमाले कम्युनिस्ट आन्दोलनबाट पतन भएकाले आफूहरूले विद्रोह गरेको दाबी गरे ।
समाजवादी प्रेस सङ्गठन सुर्खेतले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् । एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले आन्दोलन रक्षाका लागि विद्रोह गर्नुपरेको उनको भनाइ छ ।
अध्यक्ष नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने पनि जानकारी दिए । पार्टी र संगठन निर्माणनै आफूहरूको पहिलो प्राथमिकता भएको उनको भनाइ थियो । 'अन्य पार्टीबाट आउन चाहनेका लागि वार्ता र छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौँ,' उनले भने ।
एमालेको १०औँ महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाएको विषयमा पत्रकारहरूले गरेको प्रश्नमा अध्यक्ष नेपालले भने- 'नजाने बाटोका बारेमा नसोधेकै राम्रो ।'
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादी अवैध रूपमा जन्मिएको भन्दै महाधिवेशनमा नबोलाइएको रुखो प्रतिक्रिया दिएका थिए । लामो समय माधव नेपालको पक्षमा रहेका र नेकपाकालीन अन्तर्संघर्षमा केपी ओलीविरुद्ध खुलेर लागेका भट्टराईको उक्त रुखो अभिव्यक्तिको आलोचना पनि भएको थियो ।
त्यस्तै अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको बताए । नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल, महासचिव डा वेदुराम भुसाल, प्रमेश हमालसहित नेता सुर्खेत पुगेका हुन् ।