कांग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा वि.सं. २००३ माघ १२ र १३ मा भएको थियो ।
महाधिवेशनमा टङ्कप्रसाद आचार्य सभापति र बीपी कोइराला कार्यवाहक सभापति चयन भएका थिए ।
कांग्रेसको दोस्रो महाधिवेशन बनारसमा वि.सं. २००४ माघ २० र २१ गते भएको थियो भने बीपी कोइराला सभापति निर्वाचित भएका थिए ।
यसैगरी तेस्रो महाधिवेशन भारतकै दरभङ्गामा वि.सं. २००५ फागुन १८ देखि २० गतेसम्म भई मातृकाप्रसाद कोइराला सभापति भएका थिए ।
भारतकै कोलकातामा वि.सं. २००६ चैत २६ र २७ गते भएको चौथो महाधिवेशनमा सभापतिमा मातृकाप्रसाद कोइराला पुनः सभापति बने ।
कांग्रेसको पाँचौँ महाधिवेशन जनकपुरमा भएपछि बीपी कोइराला पुनः सभापतिमा निर्वाचित भएको कांग्रेसको इतिहास छ ।
वीरगञ्जमा वि.सं. २०१२ माघ ९ देखि १३ गतेसम्म भएको छैटौँ महाधिवेशनमा सुवणर्शमशेर राणा सभापति बने भने सोही अवधिमा वि.सं. २०१४ जेठ १० देखि ११ गते विराटनगरमा भएको विशेष महाधिवेशनमा बीपी कोइराला सभापति भए ।
वि.सं. २०१७ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौँमा भएको सातौँ महाधिवेशनमा बिपी कोइराला नै सभापतिमा निर्वाचित भएका थिए । वि.सं. २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भए ।
वि.सं. २०५३ वैशाख २६ देखि ३० गतेसम्म काठमाडौँमा भएको नवौँ महाधिवेशन, वि.सं. २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा भएको १०औँ महाधिवेशन र काठमाडौँमै वि.सं. २०६२ भदौ १ देखि ४ गतेसम्म भएको ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला लगातार तीनपटक सभापतिमा निर्वाचित भए ।
कांग्रेसको वि.सं. २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भएको १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भएका थिए भने वर्तमान पार्टी सभापति देउवा वि.सं. २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमै भएको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।