नेकपा (एमाले) ले आज देशभरका जिल्लामा जिल्ला कमिटीका अधिवेशन गर्दैछ । पार्टी अध्यक्ष केपी ओलीले काठमाडौंबाट भर्चुअल रूपमा जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट ओलीले ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनहरूको उद्घाटन एकैसाथ भर्चुअलरूपमा गर्ने तयारी भएको जानकारी दिए ।
मंसिर १० देखि १४ सम्म चितवनमा भएको १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मंसिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले आज जिल्ला अधिवेशन र आउँदो माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।
एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगिसकेका छन् ।
एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउने भएको छ ।
अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने भएको छ ।
मौसमी प्रतिकूलताका कारणले आज जिल्ला अधिवेशन गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ ।
जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश सङ्गठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्ने तय भएको छ ।