२५ पुसका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ । ८ माघमा बस्ने गरी बैठक सारिएको हो । केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि माओवादीले बैठक सारेको हो ।
माओवादीको आठौँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटीले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चयन गरेको छ ।
पार्टी अध्यक्ष चयन भए पनि माओवादीका बाँकी पदाधिकारी चयन हुन भने बाँकी छ । माओवादीले बाँकी पदाधिकारी चयनका लागि २५ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको थियो । तर, केन्द्रीय कमिटी बैठक सरेपछि पदाधिकारी चयन पनि त्यसपछि मात्रै हुने भएको छ ।
केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालका अनुसार पार्टी केन्द्रीय कार्यालयका पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पाइएको छ । पार्टीका केही नेता तथा कार्यालयका कर्मचारीमा समेत सङ्क्रमण देखिएपछि अध्यक्ष प्रचण्डले भेटघाट बन्द गरेका छन् ।
१८ पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय कमिटी निर्वाचन गरेको थियो । उक्त केन्द्रीय कमिटीले पार्टी पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने माओवादीको व्यवस्था छ ।
यसअघि पुस १९ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई निर्विरोध निर्वाचित गरेको थियो । माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।
विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ ।