नेकपा एमालेले पुस २३ मा ६१ जिल्लाको एकै पटक जिल्ला अधिवेशन अद्घाटन गर्यो । तीमध्ये २३ जिल्लामा भने सर्वसम्मत रूपमा पार्टी नेतृत्व चयन भएको छ ।
एमालेले हालसम्म भौगोलिक २१ र गैरभौगोलिक २ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
सर्वसम्मति भएकामध्ये २२ वटाको घोषणा भइसकेको छ भने नुवाकोटमा सचिव र उपसचिव टुंगिन बाँकी रहेकाले घोषणा भने भएको छैन ।
एमाले झापा जिल्ला कमिटीको अध्यक्षमा दीपक कार्की सर्वसम्मत चयन भएका छन् । त्यस्तै पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेतको नेतृत्वमा जिल्ला कमिटी चयन भएको छ ।
त्यस्तै डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन र बर्दियामा लालबहादुर श्रेष्ठ चयन भएका छन् । एमाले बाँकेको कमाण्ड किस्मतकुमार कक्षपतिको हातमा पुग्दा धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल र मोरङमा ऋषिकेश पोखरेल अध्यक्ष बनेका छन् ।
अशोक ब्यञ्जु एमाले काभ्रेको अध्यक्ष बन्दा भक्तपुर एमालेको नेतृत्व बचन देउजाले पाएका छन् । त्यस्तै गुल्मीमा बालसिंह काउछा, खोटाङमा रामप्रसाद दंगाल, सप्तरीमा ताराकान्ता चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, तथा धनकुटामा इन्द्रमणि पराजुली चयन भएका छन् ।
कर्णेल लामाले रसुवा एमालेको नेतृत्व पाएका छन् । नवलपरासी (पश्चिम) मा दीपेन्द्र अधिकारी, कपिलवस्तुमा डम्बर शर्मा, नुवाकोटमा बद्री मैनालीले एमालेको कमाण्ड सम्हाल्ने भएका छन् ।
त्यस्तै विशेष जिल्ला कमिटी अन्तर्गत मजदूरतर्फ जितेन्द्र श्रेष्ठ र पेशागततर्फ उमेश ढकाल सर्वसम्मत चयन भएका छन् ।