एक महिनासम्म लिइने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।
शालिनदीमा १५० व्रतालु
स्वस्थानी व्रतका अवसरमा साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ ।
वर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष मीजेन्दकाजी श्रेष्ठ यस वर्ष माघ ३ गतेदेखि फागुन ४ गतेसम्म मेला लाग्नेछ ।
तर, कोरोना महामारिलाई लक्षित गरि यस वर्ष करिब १५० जनालाई मात्र स्वास्थ्य मापदण्ड अपनाएर माधवनारायण व्रत गराउने तयारी गरिएको छ । विगतका वर्षमा करिब ४०० जनाले यस्तो व्रत लिने गरेका थिए । गत वर्ष पनि कोरोना महामारीका कारण ४९ जना मात्र व्रत बसेका थिए ।
वि.सं. २०७६ मा जस्तो मेला भने यसपटक पनि नलाग्ने समितिले जनाएको छ । गत वर्ष पनि समितिले मेला नलाग्ने भनी भक्तजनको शालिनदीमा भीड नै देखिएको थियो ।