लामो समयपछि नेपाल धितोपत्र बोर्डले एकै पटकमा ६ वटा कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासनको अनुमति दिएको छ । माघ ९ गते बोर्डले ती कम्पनीहरूलाई आईपीओ निष्कासनको लागि स्वीकृति प्रदान गरेको हो ।
धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुँदा लामो समयदेखि आईपीओ निष्कासनको अनुमति दिने कार्य रोकिएको थियो । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि बोर्ड नेतृत्वविहीन भएको हो ।
त्यसयता सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्न सकेको छैन । बोर्डको अध्यक्ष नियुक्तिमा राजनीतीकरण भएको भन्दै आलोचना हुँदै आएको छ । बोर्ड नेतृत्वविहीन भएकाले पुँजीबजारमा नकारात्मक असर परेको भन्दै आलोचना हुँदै आएको छ भने आईपीओ निष्कासनको अनुमति पर्खेर बसेका कम्पनीहरू मारमा परेका छन् ।
यस्तो जटिल समस्या लम्बिरहँदा बोर्डले हालै आईपीओ निष्कासनको अनुमति दिएको हो । यो यस वर्षको साउनपछि आईपीओ निष्कासनका लागि दिइएको पहिलो स्वीकृति हो ।
बोर्डले माघ ९ मा २ वटा हाइड्रो, ३ वटा लघुवित्त र एउटा इन्भेष्टमेन्ट कम्पनीको आईपीओ निष्कासनको स्वीकृत प्रदान गरेको हो ।
हाइड्रोतर्फ बलेफी हाइड्रो र ग्रिन भेन्चर्सले आईपीओ निष्कासनको अनुमति पाएका छन् ।
लघुवित्ततर्फ नेस्डो समृद्द लाघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले अनुमति पाएको छ भने इन्भेष्टमेन्ट समूह तर्फको इमार्जिङ नेपाल लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डले कुल १ अर्ब २६ करोड ६२ लाख २९ हजार बराबरको आईपीओ स्वीकृत गरेको हो ।
कसको कति ?
ग्रिन भेन्चर्सः
ग्रीन भेन्चर हाइड्रोले प्रति शेयर एक सय रुपैयाँ अंकित ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
ग्रीन भेन्चरले फागुन २८ मा आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।
बलेफी हाइड्रोः
बलेफी हाइड्रोले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गाविसमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
बलेफीले फागुन २५ मा आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।
नेस्डो समृद्द लघुवित्तः
नेस्डो समृद्द लघुवित्तले ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको अनुमति पाएको छ ।
कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
जाल्पा सामुदायिक लघुवित्तः
जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
राष्ट्र उत्थान लघुवित्तः
राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको छ ।
कम्पनीले शेयर निष्काशनको लागि एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
ईमर्जिङ्ग नेपाल लिमिटेडः
ईमर्जिङ्ग नेपाल लिमिटेडले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि एनआईसी एसिया बैंकलाई बिक्री प्रबन्धक चयन गरेको छ ।
आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्नेछ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक–निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो ।
बोर्डबाट अनुमति पाएसंगै अब यी कम्पनीले आह्वानपत्र प्रकाशन गरेर आईपिओ निष्काशनको मिति तोक्ने छन् ।