अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना रहेको चेतावनी दिएका छन् । बाइडेनले स्पष्ट रूपमा त्यस्तो सम्भावना रहेको जनाएका हुन् ।
रुसले पनि आफ्नो मुख्य माग अमेरिकाले अस्वीकार गरेपछि युक्रेनको सङ्कट समाधानका लागि 'आशावादी हुने ठाउँ असाध्यै झीनो रहेको' बताएको छ ।
युक्रेनको सीमामा पछिल्ला हप्ताहरूमा दशौँ हजार रुसी फौज तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ । रुसले त्यस्तो आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग बिहीबार भएको टेलीफोन वार्तामा सम्भावित आक्रमणबारे टिप्पणी गरेका हुन् ।
'राष्ट्रपति बाइडेनले रुसीहरूले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना रहेको बताएका हुन्,' ह्वाइट हाउस न्याशनल सेक्युरिटी काउन्सिल प्रवक्ता एमिली हर्नले बताइन् ।
'राष्ट्रपतिबाट यो कुरा सार्वजनिक रूपमा व्यक्त भइसकेको छ र हामीले पनि महिनौँदेखि यस्तै चेतावनी दिँदै आएका हौँ,' हर्नले भनिन् ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा युक्रेनका राष्ट्रपतिसँग बाइडेनले 'यदि रुसले थप हमला गरेमा अमेरिका र उसका समर्थक राष्ट्रले निर्णायक कदम चाल्न तयार रहेकोमा आश्वस्त' पारेको जनाइएको छ ।
जेलेन्सकीले आफूहरूले 'तनाव घटाउने पछिल्ला प्रयत्नहरूबारे छलफल गरेको र भविष्यका लागि संयुक्त कारवाहीबारे सहमत बनेको' बताएका छन् ।
समाचार पोर्टल एक्सिअसले अज्ञात स्रोतलाई उदृत गर्दै ती दुई नेताहरू रुसबाट कति खतरा छ भन्नेबारे सहमत भएनन् ।
बीबीसी