वैदेशिक रोजगारीका क्रममा कुनै समस्यामा परे या सो सम्बन्धमा कुनै गुनासो भए अब कामदारहरूले सोझै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पर्क गर्न सक्नेछन् ।
त्यसका लागि श्रम मन्त्रालयले हटलाइन नम्बर पनि सार्वजनिक गरेको छ । उक्त नम्बरमा टेलिफोन गरी वैदेशिक रोजगारीमा जाने वा गएका कामदारहरूले आफूलाई कुनै समस्या परे या सम्बन्धित निकायले गुनासो या समस्याको सम्बोधन नगरेमा गुनासो गर्न सक्नेछन् ।
मन्त्रालयले टोल फ्री र हटलाइन (पैसा लाग्ने र नलाग्ने) नम्बर सञ्चालनमा ल्याएको छ । त्यसलाई मन्त्रालयले कल सेन्टरको नाम दिइएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार उक्त कल सेन्टर सञ्चालनको सुरुवात गरेका छन् ।
उक्त कल सेन्टर २४ सै घण्टा खुला रहने छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूले कुनै समस्या परे जुनसुकै समयमा पनि सो नम्बरमा फोन गरी आफ्ना समस्या या गुनासो टिपाउन सक्नेछन् ।
त्यसका लागि मन्त्रालयले मन्त्रीको सचिवालयको मोबाइल नम्बरः ९८२३२५६७०४, ९८२३२५६७०६ सार्वजनिक गरेको छ । त्यस्तै मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधैँ सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सक्ने व्यवस्था मन्त्रालयले गरेको छ ।
उक्त नम्बरमा गुनासो या समस्या आउने बित्तिकै आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ । कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षमा आएका वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव प्राथमिकताका साथ सम्बोधन गरिने बताउँछन् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल ।
मन्त्रालयले यसअघि पनि कल सेन्टर सञ्चालन गरेको थियो । त्यसलाई वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षका रूपमा व्यवस्थित गरी सुरुवात गरिएको मन्त्रालयले जनाएको छ ।
श्रममन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् ।
पीडीतको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागीतामा मार्सल टोली गठन गरी दोषीलाई कारबाही गर्न सुरु गरिएको मन्त्री श्रेष्ठ बताउँछन् ।
पछिल्लो समय वैदेशिक रोजागरीका क्रममा ठगी भएका र विदेशी भूमिमा अलपत्र परेको गुनासो बढ्दै गएपछि श्रममन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयले कल सेन्टर स्थापना गरेको हो । त्यसलाई प्रभावकारी र व्यवस्थित बनाइने मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा खाडीका मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी मुलुकमा गैरकानुनी रूपमा नेपाली कामदार पुर्याइएको गुनासो आइरहेको थियो ।
ती देशमा पुर्याइएका नेपाली कामदारहरू अलपत्र परेका, विभिन्न समस्या तथा अफ्ठ्यारोमा परेको, ठगिएको गुनासो आउन थालेको भन्दै मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो ।
सो कल सेन्टरले वैदेशिक रोजगारीका क्रममा कामदारले बेहोरेका समस्या, गुनासो तथा सुझावलाई एकीकृत गरिने जनाइएको छ । आएका गुनासाहरूलाई प्राथमिकीकरण गरी समाधान गरिने र त्यसको जानकारी सेवाग्राहीलाई पनि दिइने जनाइएको छ ।
मन्त्री श्रेष्ठले कल सेन्टरमा प्राप्त भएका गुनासा र समस्याले सरकारलाई नीति निर्माणमा पनि सघाउ पुग्ने बताए ।
नेपालमा रोजगारीका अवसर नपाएको भन्दै ठूलो संख्यामा नेपाली कामदारहरू रोजगारीको खोजीमा विदेशिने गरेका छन् । तर, रोजगारीको खोजीमा विदेशिने कामदारहरू विदेशी भूमिमा समस्यामा पर्ने गरेको समाचारहरू आइरन्छन् । सोही समस्याको समाधान गर्न मन्त्रालयले गुनासो सुनुवाइ कक्ष स्थापना गरेको हो ।